मलेसियामा रोजगारीको बाटो खुल्यो, अब शून्य लागतमा जान पाउने !

भदौ २६ काठमाडौं लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो खुलेको छ। बुधबार नेपाल र मलेसियाका अधिकारीबीच मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो।

कामदारहरु अब ‘शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।

नयाँ कामदार मलेसिया लाने तयारी बुझ्न एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने छ। टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ। त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुनेछ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोड्ने गरी नयाँ सूचीकरण भएको हो ।

सहमतिअनुसार अब यी संस्थाहरुमा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरसम्म नयाँ संस्थालाई स्वीकृति प्रदान गर्नुपर्ने छ । तत्कालका लागि भने ३६ पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गर्ने अवस्था देखिएको छ ।अघिल्लो वर्षको जेठ २ गतेबाट मलेसिया रोजगारी ठप्प भएको थियो। १५ महिनाको प्रयासपछि नयाँ कामदारका लागि रोजगारीका लागि मलेसिया जाने बाटो खुलेको हो।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस