नयाँ कामदारलाई मलेसिया जाने बाटो खुल्यो, अब लागत शून्य

काठमाडौं : लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो खुलेको छ। नेपाल र मलेसियाबीच गत कात्तिक १२ मा भएको श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भए सँगै अब १५ महिनाबाट रोकिएको मलेसियामा नयाँ कामदार जाने प्रक्रिया सुरु हुने छ ।

 

बिहीबार नेपाल र मलेसियाका अधिकारीबीच मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो। तीन दिनदेखि बसेको बैठकमा बिहीबार सहमति भएको श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। नयाँ कामदार मलेसिया लाने तयारी बुझ्न एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने छ।


टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ। त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुनेछ।

अघिल्लो वर्षको जेठ २ गतेबाट मलेसिया रोजगारी ठप्प भएको थियो। १५ महिनाको प्रयासपछि नयाँ कामदारका लागि रोजगारीका लागि मलेसिया जाने बाटो खुलेको हो।

मलेसिया जाँदा भिसा प्रक्रियामा लाग्ने शुल्कको भार पनि कामदारमाथि पर्ने छैन । सेवा शुल्क, आतेजाते हवाइ टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, भिसा शुल्क, लगायतबाट पनि कामदार मुक्त हुनेछन् ।

अब मलेसियाले कामदार लैजाँदा मेडिकल बायोमेट्रिक, सेक्युरेटी क्लियरेन्स, भीएलएन, वान स्पट सेन्टर लगायतका नाममा कामदारबाट रकम लिन पाइने छैन । यसअघि यस्ता शुल्कका नाममा कामदारबाट २७ हजारसम्म असुलिन्थ्यो । यसकै विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले एक्सन लिँदै मलेसियामा कामदार पठाउन रोकेपछि श्रम समझदारीको वातावरण बनेको थियो ।

नेपाली कामदार जान थालेको १७ वर्षपछि मलेसियासँग भएको एमओयूमा नेपालबाट मलेसिया कामदार लैजाँदा सबै खर्च रोजगारदाताले बेहोर्ने भन्ने स्पष्ट किटान गरिएको छ ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस