logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीको उद्घाटन मोह

    प्रधानमन्त्री ओलीको उद्घाटन मोह

    5.2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले देशका विभिन्न स्थानमा शिलान्यास र उद्घाटनमा व्यस्त छन् । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको प्रचार–प्रसारमा लागेका ओली सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि पुनः देश दौडाहामा लागेका छन् । उनी पछिल्लो समय पूर्वाधार निर्माणको उद्घाटन र शिलान्यासमा व्यस्त देखिएका छन् ।

    आफ्नो पार्टीका केही व्यक्तिहरुले काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गरेको बताउने ओलीले सरकारले तीन वर्षमा देश विकासमा उल्लेख्य सुधार गरेको बताउने गरेका छन् । उनले सरकारले तीन वर्षमा भौतिक पूर्वाधार विकासमा ठूलो फड्को मारेको दाबीसमेत विभिन्न सभा तथा कार्यक्रममा गर्ने गरेका छन् ।

    पछिल्लो तीन दिन ओली लगातार उद्घाटन कार्यक्रममा नै व्यस्त देखिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार गृह जिल्ला झापा पुगेर चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरे । त्यसको भोलिपल्ट (सोमबार) उनी पोखरामा भएको प्रदेश स्तरीय कार्यकर्ता भेला सम्बोधन गर्न पुगे । सम्बोधनका क्रममा उनले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको दाबी पनि गरे । आफूहरुले आपराधिक तत्वहरु सामना गर्नु परेको दाबीसहित उनले भने, ‘तपाईँहरु अनौठो नमान्नुहोला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला ।’ सोही दिन उनले प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन पनि शिलान्यास गर्न भ्याए ।

    त्यस्तै, मंगलबार पनि प्रधानमन्त्री ओलीको सेड्युल उद्घाटमा व्यस्त छ । उनी आज पुनः झापा र मोरङ जाने तयारीमा छन् । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताल परिसरमा निर्माण भएको पूर्वाअञ्चल क्यान्सर अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । नवनिर्मित अस्पताल भवनको उद्घाटनपछि ओलीले मोरङको उर्लाबारीमा एकीकृत सन्थाल वस्ती निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

    लामो समय घरबाहिर निस्किन नसकेर बालुवाटारबाट देशको शासन सत्ता र हुकुम चलाइ बसेका प्रधानमन्त्री केपी शर्र्मा ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरे । त्यसपछि उनी आफ्नो शक्ति प्रदर्शन र चुनाव प्रचारप्रसारमा उत्रिएका थिए । 

    तर प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरेपछि पनि उनको देश दौडाहामा कमी आएको छैन । अहिले उनी उद्घाटन र शिलान्यासमा व्यस्त छन् । हरेक राम्रो कामको जस लिन लच्छाचुडी गर्ने राजनीतिक दल र तीनका नेताको स्वभावबाट प्रधानमन्त्री ओली पनि अछुतो छैनन् । जस लिनका लागि उनी भ्याइनभ्याई गरेर उद्घाटन र शिलान्यासमा दौडिएको स्पष्ट उनकै अभिव्यक्तिबाट भइरहेको छ । 

    गत माघ १७ गते भरतपुर महानगरपालिकाको अग्रसरतामा सुरु भएका दुई ठूला आयोजनाहरु सिटी हल निर्माण र महेन्द्रराजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने कामको प्रधानमन्त्रीले शिलान्यास गरे । त्यसपछि आयोजित जनसभामा उनले भनेका थिए,  ‘संघीय सरकारले एक अर्ब २० करोड हामीले दिने भवन हामीले बनाउने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने त ?’ सोही जनसभा सम्बोधनका क्रममा उनले आफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा उल्लेख्य काम गरेको दाबी गरेका थिए ।

    विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताउने प्रधानमन्त्री ओलीले सोमबार मात्र दैनिक ५ दशमलव ७ किलोमिटर बाटो कालोपत्रेसहित निर्माण भइरहेको दाबी गरेका थिए ।  सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला सम्बोधनका क्रममा उनले भनेका थिए,  ‘पहिले–पहिले एक वर्षमा जम्मा १० किलोमिटर बाटो निर्माण हुन्थ्यो । अहिले एक दिनमा ५ दशमलव ७ किलोमिटर कालोपत्रे बाटो निर्माण भइरहेको छ ।’ उनले अगाडि भने ‘तीन वर्षको अवधिमा के–केमा विकास भएको छ र कति फरक परेको छ तपाईँहरुले देखिरहनुभएको छ ।’

    पछिल्लो समय प्रधानमन्त्रीले उद्घाटन गरेका योजनाहरु :

    माघ १२ गते – दाङको राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन
    फागुन ३ गते – पुनर्निर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन
    फागुन ९ गते – स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल गोष्ठी उद्घाटन
    फागनु १० गते – कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास
    फागुन १६ गते – चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास
    फागुन १७ गते – गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानको शिलान्यास
    फागुन १८ गते – मोरङको एकीकृत सन्थाल बस्तीको शिलान्यास 
    फागुन १८ गते – पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

    आइतबारमात्र झापाको दमक, कमल र गौरादह नगरपालिकाका पाँच वटा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका प्रधानमन्त्री ओली फेरि झापा जान लागेका हुन् । आइतबारको कार्यक्रममा पनि ओलीले झापाको एउटा निर्वाचन क्षेत्रमा मात्र तीन वर्षको अवधिमा ३१ वटा सडक पुल सिलान्यास गरेको र ५ ओटा उद्घाटन गरेको जानकारी दिएका थिए । उनले भनेका थिए ‘तीन वर्षको अवधिमा के–केमा विकास भएको छ र कति फरक परेको छ तपाईँहरुले देखिरहनुभएको छ ।’

    उता, सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिने कुरामा विश्वस्त भएर बसेका विभिन्न राजनीति दल विशेषतः नेकपाकै प्रचण्ड नेपाल समूह प्रधानमन्त्रीबाट राजीनामा नआएपछि निराश बनेका छन् । तर राजीनामाको विषयमा प्रधानमन्त्री टसकोमस चलेका छैनन् । उनी राजीनामा, सरकार गठन भन्दा पनि शिलान्यास र उद्घाटनमा रमाइरहेका छन् । केहिदिन अघि टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले आफूले राजीनामा पत्र नलेख्ने अडान दोहोर्याएका थिए । आफूमाथि नैतिक प्रश्न नरहेकाले राजीनामाको आवश्यकता नभएको उनको जिकिर थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend