काठमाडौं । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताए ।
उनले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताए । उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशिल बन्न प्रेरणा दिने उनको भनाइ छ ।
उनले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन शुरु गरेको बुद्ध यएरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताए । पुस्तक ‘बाई द बुक’ २९ वर्षअघि सञ्चालन शुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध यएरको सफलताको दस्ताबेज भएको उनको भनाइ छ ।
उनले भने, ‘हामीले २९ वर्ष अगाडि बुद्ध यएर सञ्चालन शुरुवात गर्यौं । त्यो शुरुवात गर्दाखेरिको जुन एउटा सपना सोच र अग्रसरता लियौँ । एउटा सानो आमनेपाली व्यक्तिहरु बुद्ध यएरको टिम जुन अहिले १५ सय जना कर्मचारी छौँ हामी । हाम्रो समूहले ठूलो कलेजबाट डिग्री लिएको वा संस्थाबाट अनुभव लिएर सञ्चालन शुरु गरेका होइनौँ । हामीले आम नेपाली साधारण जनताले आयस्रोतको ठुलो सपना बोकेर र त्यो सपनालाई मूर्तरुप दिन यहाँ ल्याऔँ । यो काम गर्दा हामीले धेरै सिद्धान्तहरु हेर्यौँ । धेरै सूत्रहरु अपनाऔँ, धेरै व्यवस्थापनहरु अपनायौँ ।’
‘अहिले सफलताको पुष्टि भइसकेको छ । त्यो सफलता हासिल गर्न हामीे के के काम गर्यौँ के के सूत्र अपनायौँ ? कुन कुन म्यानेजमेण्ट स्कुलले पढाएको दिएका सूत्रहरु थिए वा त्यो भन्दा भिन्न थिए ? त्यो कुराहरुलाई हामीले शुरुदेखि दस्ताबेज बनाएर कथा बनाएर बुद्ध यएरको कथा आम नेपाली व्यवस्थापनमा लागेका व्यक्तिहरु र भावि व्यवस्थापनमा लाग्ने र उद्योग व्यवसायमा लाग्न चाहनेका लागि एउटा रेफरेन्सको रुपमा यो किताव आउनु पर्छ र यो प्योर्ली बुद्ध यएरको कथा हो ।
अरु कसैको पनि धेरै कुरा उल्लेख गरेका छैनौँ । जे लेखेको छौँ अनुसरण गर्नुपर्छ भन्ने आवश्यकता होइन तर रेफरेन्सको रुपमा एउटा सुझबुझ गरेर आफ्नो धारणा बनाउन सकुन्, सिर्जनशिल बनेर काम गर्न सकुन भनेर यो किताव लेखिएको हो’ उनले भने ।
हरेक समस्याहरुमा कर्मचारीहरु एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध यएरले सफलता पाएको लेखक बस्नेतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस