logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    मण्डला कोर्ने सोखले फेरिएको सजिताको जीवन

    मण्डला कोर्ने सोखले फेरिएको सजिताको जीवन

    31.7K
    Shares

    संस्कृतमा मण्डला शब्दको अर्थ हो, ‘गोलाकार’ । हिन्दु धर्म र बौद्ध धर्ममा मण्डलालाई एक आध्यात्मिक र अनुष्ठानको प्रतीकको रुपमा समेत लिइने गरिएको छ  । विभिन्न धार्मिक ग्रन्थहरुमा मण्डलालाई ब्रहमाण्डको प्रतिनिधित्व गरेर पनि ब्याख्या गरिएको छ । मण्डलामा हुने गोलाकार आकार मानव जीवनसँग अन्तर्निहीत छ । यी गोलाकार आकार जीवनको सारको प्रतीक पनि मानिन्छन् ।

    मण्डला आर्ट मनोविज्ञानसँग पनि जोडिएको छ । यसले ध्यान र योगका लागि उपयुक्त स्थान निर्माण गरिदिएको हुन्छ । प्रायःजसो मण्डलाका डिजाइनहरुले चिन्ताजनक विचार हटाउन र मष्तिस्कलाई रचनात्मक दिशातिर लैजान मद्दत गर्छ ।

    मण्डलामा कोरिएका प्रतिकात्मक चित्रले मानिसमा परिवर्तन ल्याउने बताउँछिन् मण्डला आर्टिस्ट सजिता शाही ।

    IMG-4355.JPG

    सन् २०१६ बाट सोखको रुपमा मण्डला बनाउन सुरु गरेकी शाहीले मण्डला आर्टलाई पेशा बनाएकी छिन् । सानैदेखि आर्टमा रुची राख्ने शाही मण्डला कोर्दे जाँदा आफ्नो मनोविज्ञानमा पनि परिवर्तन आएको बताइन् । उनी भन्छिन् ‘मण्डला कोर्दाकोर्दे आफैँ तनाव कम भएर जाने गर्छ । पेशा रुचीको विषय भएकाले पनि होला आफैँमा मनौवैज्ञानिक उपचार हो जस्तो लाग्छ ।’ मण्डला चित्र कोरिरहँदा ध्यान केन्द्रित गर्न सकिने, मानसिक रुपमा पनि सँधै स्फूर्त भइरहने हुन्छ । यसकारण पनि यो मनोवैज्ञानिक उपचार अनुभुति हुने उनको बुझाइ छ । 

    बीबीएमा व्याचोलर  र फेसन डिजाइनमा डिप्लोमा गरेकी शाहीको मण्डलामा गहिरो रुची छ । सन् २०१८ मा ‘पर्फेक्ट सर्कल’ नामक स्टुडियो सञ्चालनमा ल्याएर शाहीले आफ्नो व्यावसायिक यात्राको सुरुवात गरेकी थिइन् । उनी आफ्नो पेशाप्रति निकै सन्तुष्ट पनि छिन् । अहिले शाहीले व्यावसायिक रुपमा मण्डला आर्ट अघि बढाइरहेकी छिन् ।

    Snapseed (1).jpg

    शाहीलाई एउटा मण्डला कोर्न दुई दिनदेखि महिनौँ दिनसम्म पनि लाग्ने गर्छ । प्रोटेक्टर, कम्पास, स्केल, पेन्सिल आदिको प्रयोग गरेर उनी हातले मण्डला कोर्छिन् । सुरुवातमा मण्डला नबुझ्ने उनका लागि मण्डला कोर्नु निकै गाह्रो थियो । मण्डलाबारे गरेका विभिन्न अध्ययन र अनुसन्धानका आधारमा आजसम्म आइपुग्दा मण्डलाको महत्व बुझ्ने भएकी छिन् । मण्डला दुई तरिकाले बनाउन सकिन्छ, ‘डिजिटल’ र ‘ह्याण्ड मेड’ अर्थात् हातले ।

    शाहीलाई डिजिटल मण्डला बनाउन मन लाग्दैन । उनको रुची आफ्नै हातले मण्डला कोर्नुमा नै छ । यसले नै आफूलाई सन्तुष्ट बनाउने उनी बताउँछिन् । ‘वाटर कलर पेपर’मा बनाइने मण्डलामा ‘कलर कम्बिनेशन’ महत्वपूर्ण रहन्छ । मण्डलाको स्वरुपमा विभिन्न चित्र कोर्न मिल्छ । प्रतिकात्मक आर्ट रुचाउने उनलाई अरुले बनाएका डिजाइनको नक्कल गर्न मन लाग्दैन । बाहिर हिँड्दा केही नयाँ कुरा देखिन् भने फोटो लिएर त्यसैलाई मण्डलाको फर्ममा ढाल्ने गर्छिन् । उनको सिर्जनामा नेपालको प्रकृति, संस्कृति, सभ्यता, चिनारी र नेपालीहरुको मौलिकता देख्न र महसुस गर्न सकिन्छ । उनका सिर्जनाले जीवनप्रति आशा जगाउँछन् । त्यही भएर र उनका सिर्जना देशमा मात्र होइन विदेशमासमेत रुचाइएका छन् ।

    Snapseed (2).jpg

    नेपालमा मण्डलाको बजार त्यति फस्टाएको पाइँदैन । पछिल्लो समय  मण्डला घरमा सजाउनेदेखि लिएर मोबाइलको कभर, चिया राख्ने कोस्टर तथा धेरै कुरामा प्रयोग हुन थालेको छ । युवामा मण्डला प्रतिको रुचीले बजारमा बिस्तारै माग बढ्दै गएको आर्टिस्टहरु बताउँछन् ।

    प्राचीन चित्रकलाको एक धरोहर मानिने मण्डला पर्यटकहरुका लागि आकर्षणको विषय पनि हो । नेपाली मण्डला आर्टले विस्तारै विदेशमा पनि बजार लिन थालेको पाइन्छ ।  आर्टिस्ट शाहीका अनुसार, मण्डला अहिले नेपालमा मात्र होइन विदेशमा पनि रुचाइन थालेको छ । उनी भन्छिन् ‘मैले बनाएको मण्डला विदेशमा पनि माग हुन थालेको छ ।’

    उनले बनाएको मण्डला १५ हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । शाहीले मण्डला बिक्री गर्न सक्छु होला भन्ने कहिल्यै सोचेकी थिइनन् । रहरै रहरले मण्डला कोर्न थालेको बताउने शाही भन्छिन् ‘पछिल्लो समय मेरो काम मन पराएर, मैले कोरेका मण्डलाहरु मन पराएर मानिसहरुले जुन माग गरिरहेका छन् । यसले मलाई झन् हौसला प्रदान गरेको छ ।’ उनी मण्डला कोरेर बेच्नेमात्र होइन आफूजस्तै मण्डलामा रुची राख्नेहरुलाई मण्डला चित्र कोर्न पनि सिकाइरहेकी छिन् । 

    IMG-4350.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend