logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानमन्त्री ओली हरेक मिनेटमा गम्भीर झुट बोल्छन् : घनश्याम भुषाल (भिडियाे अन्तर्वार्ता)

    प्रधानमन्त्री ओली हरेक मिनेटमा गम्भीर झुट बोल्छन् : घनश्याम भुषाल (भिडियाे अन्तर्वार्ता)

    6.4K
    Shares

    करिब तीन वर्षपछि सर्वोच्च अदालतले ब्युँताइदिएको नेकपा (एमाले) विभाजनको उत्कर्षमा पुगेको छ । वामपन्थी आन्दोलन र नेकपा एमालेमा योगदान पुर्‍याएका वरिष्ठ नेताहरुलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले विधान मिचेर कारवाही गर्ने निर्णय गरेका छन् । यसै सन्दर्भमा नेकपा (एमाले) का उप–महासचिव घनश्याम भुषालसँग सुनौलो नेपालका प्रधान सम्पादक सरोजराज अधिकारीले गरेको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

    तपाईँ त अब निलम्बित नेकपा एमाले हैन ? 

    ओलीजीको ठाउँमा उभिएर हेर्दा म निलम्बित हो । तर विधानमा उभिएर हेर्दा म निलम्बित होइन । किनभने, हाम्रो विधान अनुसार पदाधिकारीलाई कारवाही गर्न महाधिवेशनले मात्र सक्छ । दोस्रो कुरा केपी ओली नै अवैधानिक अध्यक्ष हुनुहुन्छ । उहाँ अहिले आफूलाई आयोजक कमिटीको अध्यक्ष भानिरहनु भएको छ । यसको पनि हाम्रो विधानमा कुनै ब्यवस्था नै छैन । उहाँले विधान संशोधन गरेर अध्यक्ष भएको भन्नुभएको छ । तर विधान संशोधन विधान महाधिवेशनले मात्र गर्न सक्छ । त्यसैले नेकपा एमालेको विधान र नवाैँ महाधिवेशन अनुसार हेर्दा हामी निलम्बित हुन मिल्दैन । 

    केपी ओली आयोजक कमिटीको अध्यक्ष भएको भन्नुभयो, कसरी ? 

    हामी अब केन्द्रीय कमिटि होइनौँ, आयोजक कमिटी हौं भनेर उहाँले भन्नुभयो । त्यसका लागि विधानमा ब्यवस्था थिएन । त्यसोभए विधान लेखौँ भन्नुभयो । लेख्नुभयो । केन्द्रीय कमिटीले आवश्यकता अनुसार विधान संशोधन गर्न सक्दैन । यो एकदमै प्रष्ट छ । विधान संशोधन विधान अधिवेशन वा महाधिवेशनले मात्रै गर्न सक्छ । 

    तपाईँहरु वैधानिक रुपमा एमाले मै छौँ भन्नुहुन्छ । तर अहिलेको अवस्थामा तपाईँहरु एकैठाउँमा अटाएर अगाडि बढ्न सक्ने संभावना त अत्यन्तै न्यून भएर गएको छ नि हैन र ? 

    उहाँको कोणबाट हेर्दा त उहाँले पार्टी विभाजित गरिसक्नुभयो । हाम्रो प्रयत्न अझै पनि यो पार्टीलाई एक राख्न सकिन्छ कि भन्ने हो । यति ठूलो शक्ति विभाजन पश्चात उत्पन्न हुने भ्याकुममा राष्ट्रिय, अन्तर्राष्ट्रिय, वाञ्छित, अवाञ्छित शक्तिहरुले खेल्ने मौका पाउँछन् । हामी फेरि द्वन्द र अस्थिरताको अवस्थामा फर्किन्छौँ । त्यसैले केपी ओलीजीले गरेका अवैधानिक कार्यहरुलाई निस्तेज पारेर पार्टी पंक्तिलाई एक बनाउछौँ भनेर हामी लागिरहेका छौँ । 

    आजको दिनमा पार्टीभित्र त तपाईँहरु अल्पमतमा हुनुहुन्छ नि ?

    हामी त्यो स्वीकार गर्छौँ । भदौ २६ गते हामीले स्थायी कमिटीबाट तपाईँनै ५ वर्ष प्रधानमन्त्री चलाउनुस् र महाधिवेशनसम्म अध्यक्ष पनि हुनुस् भनेर लिखित रुपमा दिएका थियौँ । तर त्यति हुँदा पनि उहाँले संसद विघटन गर्नुभयो । 

    पुनःस्थापित एमालेमा पनि उहाँ ४/५ मतले बहुमतमै हुनुहुन्छ । हामीले त्यही बैठक बोलाएर कारवाहीदेखि के के गर्न मन लागेको छ गर्नुस् भनेका हौँ । आफ्नै बहुमत भएको बैठक नबोलाएर उहाँले गुटको बैठक बोलाएर विधान संशोधन गरिएको भनेर सूचना निकाल्नुभएको छ । यो निकै रहस्यपूर्ण छ । उहाँका कदम एक पछि अर्को रहस्यपूर्ण बन्दै गइरहेका छन् । उहाँले हाम्रो राजनीतिलाई रहस्यपूर्ण ढङ्गले अप्ठेरोमा पार्न खोज्नुभएको छ त्यो चिन्ताको विषय हो । 

    तपाईँहरु एकातिर ओलीका कारण पार्टी विभाजनोन्मुख भयो भनेर भनिरहनुभएको छ । तर फेरि तपाईँहरु नै समानान्तर कमिटी बनाउँदै पनि हुनुहुन्छ । यसले तपाईँहरुले पनि त पार्टी विभाजनको रेखा कोरेको जस्तो देखिन्छ नि । हैन र ? 

    चैत ४ र ५ मा भएको राष्ट्रिय कार्यकर्ता भेलाको मूल ‘थिम’ वा मूल नारा नै एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ भन्ने नै थियो । हामीले सर्वोच्चको फैसलापछि पुनःस्थापित नेकपा (एमाले) का सबै संगठनहरु ब्युँताउने भनेका छौँ । पार्टीका सबै कमिटिहरु २०७५ जेठ २ को अवस्थामा पुर्‍याउने भनेर हामी लागेका छौँ । त्यसैले समानान्तर कमिटी बनाएको त केपी ओलीले हो । वैधानिक त हामी हौँ । 

    तर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी निर्माण हुन लागेको भनेर बाहिर आइरहेको छ नि  ? भारतीय सञ्चारमाध्यममा पनि समाचार आएको थियो यस विषयमा, खास कुरा के हो ? 

    पत्रपत्रिकासँग भन्दा पनि हाम्रो कुरा हामीसँगै बुझिदिनुभयो भने राम्रो हुन्छ । हामीले नेकपा एमालेको एकता बचाउने हो । त्यसका लागि जेठ २ गतेकै कमिटीहरु ब्युँताउने हो भन्ने कुरामा सर्वसम्मत नै काम गरिराखेका छौँ । 

    भनेपछि नयाँ पार्टी गठन गर्ने तयारीमा तपाईँहरु हुनुहुन्न ? 

    हामीले धरै छलफल गरेर राष्ट्रिय कार्यकर्ता भेलाले नै जेठ २ को एमाले ब्युँताउने हो, अर्को पार्टी गठन गर्ने होइन भनेर निर्णय गरेका हौँ । त्यसैले हामीले के गर्न खोजिरहेका छौँ भन्ने त प्रष्ट नै छ नि । हामी त नेकपा एमाले. नै ब्युँताउन खोजिरहेका छौँ । 

    तपाईँहरु जेठ २ को नेकपा एमाले ब्युँताउने भनिरहनुभएको छ । तर पछिल्लो अवस्था त अलि फरक छ नि, तपाईँ लगायत ४ जना शीर्ष नेताहरुलाई साधारण सदस्यबाट नै निलम्बन गरिएको छ । निलम्बित अवस्थामा कुन नेकपा एमाले ब्युँताउने ? 

    निर्वाचनका बेला उहाँले आफ्नो गुटका मान्छेलाई टिकट दिन प्रयत्न गरेपछि मैले उहाँलाई एउटा विधि बनाएर त्यही अनुसार गरौँ भनेको थिए । उहाँले मलाई  त्यतिबेला नै कारवाही गर्छु भन्नुभएको थियो । सौभाग्य दूर्भाग्य के हो, दुवैले दुवैलाई नचाहाँदा नचाहाँदै चुनाव जितेर आइयो । मैले त्यति बेला हामीले  एक अर्कालाई कारवाही गर्न विधानतः सक्दैनौँ भनेको थिए । 

    अहिले त्यही गरेर देखाउनभयो जुन विधानमा छैन । त्यसैले म निलम्बित भएँ, मेरो राजनीति सकियो भन्ने महशुस नै हुँदैन । खासगरी श्रमजीवि जनताप्रतिको प्रतिबद्धतालाई उहाँले खारेज गर्न कहिल्यै सक्नुहुन्न । 

    उहाँको शैलीलाई मैले ‘कंगारु कोर्ट’ भनेको छु । आफैँले कसैका विरुद्धमा आरोप पत्र बनाउने, त्यो तहकिकात गर्ने, आफैँले अनुसन्धान गर्ने, आफैँले फैसला गर्ने, के के गर्ने हो सबै पहिले नै निश्चित गरेर त्यो सबै गर्दै जाने । उहाँको गतिविधिले म र माधवजीका विरुद्धमा होइन, नेपालको वाम आन्दोलनका विरुद्धमा आफ्नो सामर्थ्यले भ्याएसम्म लागि परिरहनुभएको छ । आज मैले यो भन्नुपर्ने अवस्था आएको छ । यो धेरै लज्जाको विषय हो, खेदको कुरा हो । तर वास्तविकता यही नै हो । 

    माधव–झलनाथ पक्षमा अरु धेरै नै नेताहरु पनि हुनुहुन्छ । तर ओलीले तपाईँहरु ४ जनालाई मात्रै कारवाही गर्नुका पछाडि के कारण होला ? 

    त्यो त उहाँलाई  नै सोध्दा ठिक होला ।  उहाँले यो लोकतन्त्र र वाम आन्दोलनका लागि गरेको त हुँदै होइन । उहाँले दास हुन नचाहेर विद्रोह गर्नेहरुलाई झुण्ड्याएर दुनियाँ तर्साउन खोज्नुभएको छ । यस्ता कारवाही र निश्काषनले कहीँ पनि, कतै पनि चेतनाको, लोकतन्त्रको, आदर्शको र मूल्यको आन्दोलन रोकिएको छैन ।  उहाँले या त यो बुझ्नुहुन्छ या त दण्डित हुनुहुन्छ ।

    तपाईँहरु बारम्बार केपी ओलीले वाम आन्दोलनलाई मास्न चाहानुहुन्छ भनिरहनुभएको छ । उहाँ किन यो चाहिरहनुभएको छ ? 

    राजनीतिमा लाग्दा जो कोही पनि सबै सिद्धान्त बुझेर लाग्दैन । समाजका विभिन्न हण्डर, ठक्करहरले मान्छेलाई त्यहाँसम्म पुर्‍याएको हुन्छ । त्यसकारण मान्छेहरु आफ्नो सामाजिक सुरक्षाका लागि, नाम, इज्जत र प्रतिष्ठाका लागि लाग्छन् । र कतिपय मान्छेहरु बदला लिनका लागि लाग्छन् । 

    असल राजनीतिक पार्टीले त्यो गलत मनोवृत्तिलाई विस्तारै प्रशिक्षित गर्दै लैजान्छ । अझ समाजवादी पार्टीले ब्यक्ति भन्दा माथि उठ्न सिकाउँछ । कतिपय मान्छेहरु यो प्रक्रियाबाट प्रशोधित हुँदैनन् । उनीहरु दशकौँसम्म बदलिँदैनन् र दुर्भाग्यले कहिलेकाही शक्तिमा पुगिदिन्छन् र सबै संरचनाहरु ध्वस्त पारिदिन्छन् । 

    केपी ओली अप्रशोधित वामपन्थी कम्युनिष्ट नेता हुन् भन्न खोज्नुभएको हो ? कम्युनिष्ट पार्टीमा हुनुहुन्छ, कम्युनिष्ट भन्नेपर्‍याे। तर प्रशोधन भएन भन्ने कुरा चैँ उहाँको शैली र ब्यवहारले देखाउँछ भन्न खोजेको हो ? ओली र उहाँसँग बालुवाटारमा बस्ने झुण्ड जसले सामाजिक सञ्जालमा तपाईँहरुलाई सत्तोसराप गर्छन्, उनीहरुको पनि प्रशोधन नभएको हो ? 

    तपाईँले भनेको पनि ठिकै हो । तर ओली संरचनालाई हेर्दा सबैभन्दा माथि ओली हुनुहुन्छ त्यसपछि राजनीतिक रुपले आएको एउटा जमात छ, दलाल पूजीँपतिहरुको अर्को जमात छ, त्यसपछि तीनले पालेको लम्पेनहरु छन् । दलाल पूजीँपतिहरु र तीनले पालेका लम्पेनहरु उहाँको सबैभन्दा ठूला शक्ति हुन् । उनीहरुलाई ओली प्रकट हुनुभयो, अवतरित हुनुभयो भनेर प्रशंसा गर्छ । उहाँ त्यसमा रमाउनुहुन्छ । उहाँले गरेका कार्यक्रमहरुलाई हेर्‍यो भने पनि यो थाहा हुन्छ । कुनै समाजवादीको चरित्र त्यस्तो हुँदैन । 

    तर उहाँ भन्दा एक स्टेप तलको फौज जुन छ त्यो राजनीति गरेरै आएको हो । त्यो दुविधामा छ भन्ने लाग्छ मलाई । किनभने त्यसलाई ओलीले गल्ती गरेको भन्ने थाहा छ तर उहाँको गल्ती औँल्याइदिने हो भने मन्त्री पद, सुख सुविधा, ठेक्का पट्टा, राजनीतिक नियुक्तिलगायतका विषयहरु र सत्ताले दिएको सामाजिक हैसियत गुम्ने डर त्यो फौजमा छ । त्यसैले यो तप्का बोल्नै सकिरहेको छैन । त्यसैले उहाँलाई सल्लाहकारहरुले विगारेको भन्ने म मान्दै मान्दिन । सल्लाहकारहरुले बेफ्वाँकमा गाली खाइरहेका छन् । उहाँका वास्तविक सल्लाहकारहरु बालुवाटारभित्र, पार्टीभित्र छन् भन्ने मलाई लाग्दैन । उहाँलाई कसैले सल्लाहा दियो भने उहाँ उसँग शत्रुतापूर्ण ब्यवहार गर्न सुरु गरिहाल्नुहुन्छ । 

    यसरी हेर्दा, केपी ओली र उहाँको समूहसँग विचार, सिद्धान्त, राजनीतिक र जीवन दर्शन केही पनि नमिल्ने अवस्था छ । तपाईँहरु चाहिँ फेरि पनि सूर्य चिन्ह र नेकपा एमाले मात्रै भनेर त्यहीँ बस्ने कि विचार मिल्नेहरुसँग मिलेर अगाडि बढ्ने ? 

    तपाईँले भनेको कुरा ठिकै हो । तर राजनीतिकरुपमा नेकपा एमाले भन्ने विराट संस्था निर्माण गरेका छौँ । यो संस्थामा आएका समस्याहरुलाई हामीले छलफलबाट हल गर्दै ल्याएका हौँ । त्यसैले हामीले यत्रौ ठूलो संरचनालाई फेरि पनि विधिको परिधिभित्र ल्याउन सकियो भने ति तमाम साथीहरुलाई सुधार्न सकिन्छ कि भन्ने सोँचेका छौँ । 

    उहाँहरुलाई हामीले गल्ती गरेको जस्तो लाग्छ भने पनि न्यूनतम रुपमा विधिसम्मत हिसाबले बसौँ न त । कमरेड केपी ओलीले पनि एकपटक विधानमा उभिएर हेर्न पर्‍याे नि त । ओली हरेक एक मिनेटमा गम्भीर झुट बोल्नुहुन्छ । तर झुट यसरी बोल्नुहुन्छ कि अरु कोही बोल्नै सक्दैन । उहाँले केन्द्रीय कमिटीको बैठक बोलाउँदा पनि हामी नगएको भन्नुहुन्छ ।

    तर उहाँले आफ्नो गुटका मान्छेलाई मात्र बोलाउनुभएको थियो । तर बाहिर आएर मैले बोलाउँदा उनीहरु आएनन् भन्नुभयो । यो भन्दा झुट अरु के हुन सक्छ ? डरलाग्दो कुरा के भने, देशको प्रधानमन्त्रीले यति सफेद झुट बोल्दैछ ।  यसबाट हाम्रो पार्टी, लोकतन्त्र, वामपन्थ पीडित छ । पार्टीले उहाँलाई काम गर्न नदिएर संसद विघटन गरेको भन्ने कुरा पनि झुट नै हो । एमसीसीलाई परिमार्जित गरेर पास गरौँ भन्ने विषयमा भन्दा उहाँलाई अरु कुनै विषयमा रोकेको छैन । तर उहाँ दुनियाँकासामु आफूलाई काम गर्न दिइएन भनेर झुट बोल्दै हुनुहुन्छ । 

    उहाँले सरकारले गर्ने काममा कहिल्यै पनि पार्टीमा छलफल गर्नुभएन । दलीय ब्यवस्थामा यस्तो कहाँ हुँन्छ ? संसदीय ब्यवस्थाको सामान्य मर्यादामा पनि उहाँ बस्नुहुन्न र बाहिर झुट मात्रै बोल्दै हिड्नुहुन्छ भन्ने कुरा हो । 

    फागुन ११ पछि राजनीतिक संक्रमण त झन् बढेर गएको जस्तो देखिन्छ नि ? 

    संसद पुनःस्थापना भयो भने पनि ओलीजीले सुख दिनुहुन्न भनेर मैले पहिले नै भनेको थिए । आज ठ्याक्कै त्यही भइरहेको छ । अब फेरि पार्टी विभाजन भयो भने पनि त्यो सानो चोइटोमा पनि उहाँले समस्या खडा गर्नुहुनेछ । ब्यवस्थालाई तोड्ने यो अनौठो मनोरोग उहाँमा छ । 

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो अवस्थामा तपाईँहरुले फ्लोर क्रस गर्ने सम्भावना छ कि छैन ? 

    यो राजनीतिक हिसाबले र हाम्रो अभ्यासका हिसाबले मिल्दैन । 

    प्रधानमन्त्रीले तपाईँलाई लक्षित गर्दै विद्धान भनेर मन्त्री बनाएको काम गर्न सकेन अनि सोँचे जस्तो गर्न सकिन्न भनेर स्टाटस लेख्यो भन्ने अभिब्यक्ति दिनुभयो । केही दिन अघि बालुवाटारबाट चुनाव जित्ने बित्तिकै पार्टी फुटाउन किन लाग्नुपर्ने भनेर तपाईलाई प्रश्न आयो । यसमा तपाईँको प्रतिक्रिया के छ ? 

    यस्तो लेखेको मेरो स्टाटस देखाइयोस् । यो पनि अर्को एउटा झुट हो । 

    २०५४ सालमा ओलीजी महाकाली सन्धीको पक्षमा उभिनुभयो र हामी त्यसको विरुद्धमा उभियौँ । त्यतिखेर अल्पमतमा रहेका वामदेव गौतमको पक्षमा लाग्दा विधि उल्लङ्घन भयो होला । म त्यसमा छलफल गर्न तयार छु । त्यसमा हाम्रो कमजोरी भयो होला । 

    तर त्यतिखेर चुच्चे नक्साको कुरा उठाएको त हामीले हो नि । महाकालीको मुहान कहाँ हो र कति पानी आउँछ त्यो फिक्स गरेर पानी आधा–आधा गर भनेर त हामीले भनेका हौँ नि त्यतिखेर । यसोभन्दा हामीलाई उहाँहरुले संसदबाट निकाल्नुभएको हो । आजको चुच्चे नक्साको कुरा त हामीले  त्यसबेला उठाएको हो । मलाई त्यसकारण केही पछुतो छैन । 

    दोस्रो कुरा यो संविधानलाई नितान्त निजी सनकको भरमा च्यात्ने काम उहाँले गर्नुभयो । यसलाई सहयोग गरेर म अगाडि बढ्न सक्ने अवस्था थिएन । आत्मसमर्पण गरेर मन्त्री हुन्न भनेर म मन्त्रिपरिषदबाट निस्केको हो । जुन प्रधानमन्त्री हरेक एक मिनेटमा भयङ्कर डरलाग्दो झुट बोल्छ र म प्रमाणित गर्न पनि सक्छु । त्यस्तो बालुवाटारले के भन्छ भन्ने कुराले वास्तवमा मलाई कुनै प्रभाव पार्दैन ।

    हेर्नुहाेस् भिडियाे :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend