logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ११ सयभन्दा बढी गीतका सफल संगीतकार

    ११ सयभन्दा बढी गीतका सफल संगीतकार

    6.1K
    Shares

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा चिनिएको नाम हो राजु सिंह । नेपाली सांगीतिक आकाशमा राजु सिंह नाम एक ‘आइकन’को रुपमा परिचित छ । उनले अहिलेसम्म ११ सय वटाभन्दा बढी गीतमा संगीत भरिसकेका छन् । 

    सिंहसँग नेपाली संगीत क्षेत्रका तीन पुस्तासँग काम गरिसकेको अनुभव छ । नेपाली संगीत क्षेत्रमा हाल सक्रिय रहेका र चर्चाको शिखरमा रहेका आनन्द कार्की, यम बराल, रामकृष्ण ढकाल, शिव परियार, नविन के भटराई, मेलिना राई , रिमा गुरुङ, प्रमोद खरेल, मिलन नेवारलगायतका  कलाकारले उनको संगीतमा तयार भएका सयौँ गीतमा स्वर दिइसकेका छन् । 

    सांगीतिक वातावरणमा बाल्यावस्था बिताएका संगीतकार सिंहका बुबा भगत सिंह एक कुशल बाद्यबाधक थिए । संगीतमय परिवारमा हुर्किने अवसर पाएका सिंहको लक्ष्य पनि संगीततिर नै मोडियो । त्यतिबेला संगीत पढेर सांगितिक क्षेत्रमा आउने मानिसहरु निकै कम मात्रामा हुन्थे । उनका बुबाले पनि आफ्ना छोराले पढेरमात्र यो क्षेत्रमा लागिदिए हुन्थ्यो भन्ने चाहाना राखेको उनी सम्झन्छन् । बुबाको चाहाना अनुरुप नै  उनी पढाइमा दतचित भएर लागे । उनी भन्छन् ‘मलाई सानैदेखि बुवाको संगीतप्रतिको मोहले यो क्षेत्रमा तान्यो । मेरो संगीतप्रतिको सौखका कारण परिवारले पनि यही क्षेत्रमा रहेर केही गरोस्् भन्ने चाहन्थे, त्यसकारण पनि मैले इलाहबाद विश्वविद्यालयबाट ६ वर्षे म्युजिक कोर्स गरेँ ।’

    यसका अलावा उनले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातक पनि पूरा गरे ।

    त्यसैगरी उनले लण्डनको ट्रिनिटी म्युजिक कलेजमा चार वर्ष अध्ययन पनि गरे । विभिन्न स्थानमा संगीतबारे पढ्न, बुझ्न पाए पनि आफ्नो संगीतको यात्रामा पहिलो गुरु र पहिलो शिक्षा भने आफ्नो बुबाबाट पाएको उनी बताउँछन् । यी शिक्षाले नै आफूलाई लगनशील बन्न प्रेरित गरेको उनको भनाइ छ ।

    रेडियो नेपालबाट ‘नाम’ आएको त्यो दिन

    सिंहले पहिलो पटक विसं २०४७ सालमा गीत रेकर्ड गराएका थिए । उनको संगीतमा रेकर्ड भएको गीतमा गीतकार ज्ञानेन्द्र गदालको शब्द र रत्न बरालले स्वर दिएका थिए । ‘कहीँ कतै देखे जस्तो, कहीँ कतै भेटे जस्तो’ भन्ने उनको पहिलो गीत रेकर्ड  भएको थियो । त्यो समयमा रेडियो नेपालमा गीत बज्नु ठूलो उपलब्धी र सफलता  थियो ।

    IMG_0017.JPG

    रेडियो नेपालमा आफूले संगीत भरेको गीत बज्दा उनी निकै उत्साहित भएका थिए । उनी सम्झन्छन् ‘रेडियो नेपालले संगीतकारको रुपमा आफ्नो नाम लिँदा जीवनकै ठूलो उपलब्धी महसुस गरेको थिएँ ।’ यही उत्साहले पनि उनी निरन्तर संगीतमा लागिरहे । यसले प्रेरणा दिइरह्यो । अहिले पनि सिंह छोटो समयमा प्रशस्त गीतहरुमा संगीत दिने एकदम कम संगीतकारहरुमा पर्छन् ।

    हालसम्म उनले ११ सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन् । जसमा एक दर्जनभन्दा बढी चलचित्रका गीतहरु रहेका छन् ।  उनको संगीतमा ३५ वटा सोेलो एल्बम बजारमा छन् । सिंह भन्छन्, ‘संगीत भनेकोे लय हाल्नु मात्र होइन, आफ्नो पहिचान बनाउनु पनि हो ।’

    नेपाली गीतमा मात्र होइन उनले केही हिन्दी गीतमा पनि संगीत भरीसकेका छन् । संगीत जीवन्त हुुनुपर्छ भन्ने मान्यता राख्ने उनले १८ वर्षकै उमेरमा  विश्व प्रख्यात गायक गुलाम अलि, आशा भोस्लेलगायतले स्वर दिइसकेका विभिन्न गीतमा  संगीत भरिसकेका छन् । एउटा सफल संगितकार हुनका लागी परीवारको सहयोग उनका लागी जति उदाहरणिय छ त्यत्तिकै अन्य कलाकार र सहपाठीको पनि भएको मान्छन् उनी ।  

    संगीतमा टिकिरहन साधना

    समयक्रम अनुसार संगीत पनि बदलिनुपर्छ भन्ने संगीतकार सिंहको भनाइ छ । तर पनि हामीले हाम्रो मौलिकता भने बिर्सन नहुने उनी बताउँछन् । नेपाली संगीतको मौलिकता जोगाइराख्न नयाँ पुस्ताले बढी उत्सुकता राख्नुपर्ने उनको तर्क छ ।

    IMG_0020.JPG

    उनको नजरमा संगीत क्षेत्रका लागि एउटा लय दिन संगीत विषय अध्ययन गरेका वा विज्ञहरु आवश्यक हुन्छन् । जसले आफ्नो मौलिकता र नयाँ पुस्ताको माग सम्बोधन गर्न सक्छ । उनी भन्छन्, ‘पूर्वीय दर्शन, पश्चिमा संस्कृति हावी भइरहेको अवस्था छ । बजारमा हिपहपको जमाना छ, भोलि अर्को कुनै नयाँ ट्रेण्ड भित्रिएला । हामीले मौलिक हुने नाममा बजारसँग अनविज्ञ भएर बस्न मिल्दैन । संगीत क्षेत्रको विकासका लागि समय अनुसार मौलिकपन जोडेर अगाडि लैजाने हो ।’ ‘नेपालमा संगीतले बजार पाउनका लागि कलाकार र शब्दले मात्र मान्यता राख्छ भन्ने भ्रम छ,’ उनी भन्छन् ‘अझ नयाँ पुस्तामाझ यो भ्रम निकै देखिन्छ । तर संगीत बुझ्नेका लागि गीतले बजार लिन संगीतको पनि उतिकै महत्व हुन्छ । 

    सिंह नेपालका महंगो संगीतकार मध्ये पर्छन् । दर्जनभन्दा बढी बाजाहरु बजाउन सक्ने क्षमता भएका सिंहको पहिचान संगीतकारमा मात्र सीमित छैन । उनी राम्रो म्युजिक एरेन्जर पनि हुन् । संगीत क्षेत्रमा तीन दशक पार गरिसकेका सिंह पुराना तथा नयाँ पुस्ता बीचमा उति नै लोकप्रिय छन् । अध्ययनशील, मिहिनेत र काम प्रतिको लगनशीलताले नै आफू लोकप्रिय भएको होला भन्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘संगीत भनेको सिर्जना मात्र होइन, साधना पनि हो ।’ यो क्षेत्रमा टिकिरहनका लागि लामो समय साधना गर्नुपर्छ । उनी भन्छन् ‘टिक्नु र बिक्नु फरक कुरा हो । संगीतलाई डुबाउन होइन, संगीतमा डुब्न जान्नुपर्छ ।’

    बढदो कभर गीतको प्रचलका बारेमा सिंह भन्छन्, ‘राम्रो गायक–गायिकाले कभर गर्दा फरक पर्दैन,  तर वास्तविक स्रष्टा ओझेलमा पर्न भएन ।’ कभर गर्नु भनेको एउटा साहारा लिनु मात्र हो । कभर गीतका लागि मापदण्ड र नियम बन्न जरुरी रहेको उनी बताउँछन् ।

    सांगीतिक जीवनमा विभिन्न समयमा सम्मान तथा अवार्डले सम्मानित सिंहले केही समय अघिमात्र ‘नातिकाजी विशेष संगीत’ सम्मान पाएका थिए । यसबाहेक उनले साउथ एसियन जर्ज अवार्ड, बेस्ट कलेज अवार्ड जस्ता विभिन्न अवार्ड पाइसकेका छन् । संगीत नै जीवनको पर्याय ठान्ने सिंहको चहाना पूरा जीवन राम्रो कम्पोज गर्दागर्दै बितोस् भन्ने रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend