logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुग्यो’

    ‘जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुग्यो’

    4.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् । 

    कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताए। ‘नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ’, उनले भने । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उनको भनाइ थियो । 

    कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताए । ‘जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो’, उनले भने । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो । 

    कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए । आँखामा राख्दा नबिझाउने नेता स्व जोशी भएको उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताए । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । 

    कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले स्व जोशीले दुःखका बेला राजनीति गरेको बताइन् । नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उनले बताइन्। कांग्रेस केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्व अध्यक्ष प्रदीप पौडेलले स्व जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताइन् । नेविसङ्घका अध्यक्ष राजीव ढुङगाना, महामन्त्री दीपक भट्टराईलगायतले कांग्रेस र नेविसङ्घलाई बलियो बनाएमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend