logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • काेराेना संक्रमितले भरिए भेरी र कोहलपुर अस्पताल

    काेराेना संक्रमितले भरिए भेरी र कोहलपुर अस्पताल

    4K
    Shares

    बाँके । कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल भरिएका छन् । गम्भीर बिरामीले शय्या नपाउने अवस्था आएको छ ।

    अत्यधिक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि दुवै अस्पताल भरिभराउ भएका हुन् । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

    उनका अनुसार अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ शय्या भरिएका छन्। अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको डा. थापाको भनाइ छ ।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले सङ्क्रमण रोकथाम र सङ्क्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

    कोरोना सङ्क्रमितको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाईले अस्पतालमा शय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने अवस्था आएको बताए । अहिले पनि शिक्षण अस्पतालमा ३ गम्भीर प्रकृतिका बिरामीले आइसीयू शय्या पर्खेर बसेको बताए। कोभिडका बिरामी राख्ने वार्ड नहुँदा स्थिति नियन्त्रणबाहिर जान लागेको उनको भनाइ छ ।

    स्थिति नियन्त्रणबाहिर जान थालेपछि कोरोना सङ्क्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी पनि चिन्तित बनेका छन् । भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताए । अहिले परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए प्रायः सबैमा सङ्क्रमण देखिने गरेको उनले बताए ।

    बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा शय्या अभाव भइरहेको बताए । अब अस्पतालमा शय्या थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend