logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

    धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

    3.2K
    Shares

    काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी  मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन् । उनले खेलको २१ औँ मिनेटमा सो गोल गरेका थिए । ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बने । उपाधिसँगै काठमाडौँले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख प्राप्त गरेको छ । 

    खेलको २९ औँ मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो । खेलको ३० औँ मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल  गर्नबाट चुके । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन । 

    मध्यान्तरपछि खेलको ५५ औंँ मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडौँका गोलकिपर विकेश कुथुले जोगाए । खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोके । यस्तै खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो ।

    खेलको ८२ औँ मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुके । खेलको ९० औंँ मिनेटमा काठमाडौंका बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन । 

    काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित भए । यस्तै काठमाडौँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित भए । दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गरे । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए । 

    कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडौँ र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend