logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना नियन्त्रणका लागि विज्ञहरुले दिए यस्ताे सुझाव

    कोरोना नियन्त्रणका लागि विज्ञहरुले दिए यस्ताे सुझाव

    4.1K
    Shares

    काठमाडौं । कोभिड – १९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिइएको छ ।

    शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका थिए । सो छलफलमा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेको र गम्भिर बिरामीपनि बढेको भन्दै अक्सिजन र अक्सिजन सिलिण्डरको बन्दोबस्तमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए । उनले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने बताए ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भए पनि भर्ने व्यवस्था गर्नुपर्ने बताए । अक्सिजनको आवश्यकता पूर्ति गर्नका लागि जि टू जि मार्फत् आयात गर्नुपर्नेमा उनले जोड दिए । होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उनको भनाइ थियो ।

    चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तीन÷चार दिन भित्र सरकारी अस्पताललाई दिइने पनि उनले जानकारी दिए ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताए । स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने उनको भनाइ छ । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भए पनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताए । डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने पनि उनले बताए ।

    वरिष्ठ चिकित्सक चक्रराज पाण्डेले विरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताए । अनावश्यक भर्ना भएका विरामीहरुलाई भन्दा अतिआवश्यक अवस्थाका विरामीहरुलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उनको भनाइ छ ।

    गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताए । ठूलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उनकाे भनाइ छ ।

    वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताए । बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उनकाे जोड छ । ९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उनले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइशोलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताए । घरमा आइशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइशोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उहाँको भनाइ छ । परीक्षणको दायरा बढाउनुपर्ने, आईसीयू र भेन्टीलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाइफ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्ने उनकाे भनाइ छ । अक्सिजन सिलिण्डर गायब गरिने गरेको भन्दै उनले प्रशासनले सिलिण्डर खोज्नुपर्ने पनि बताए । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर निजी क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उनकाे भनाइ छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताए । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै त्यसो गर्नु नहुनेमा सचेत गराए । मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको उनकाे भनाइ छ । लिक्विड अक्सिजन तुरुन्त खरिद गर्न सक्ने अवस्था नरहेको पनि उनकाे भनाइ छ ।

    प्रधानमन्त्री ओलीले शनिबार सबै क्षेत्रका व्यक्तिहरुसँग कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्ती सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend