काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति लाइन काटेको हो ।
जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।
उद्योगहरूलाई पटक–पटक बुझाउने सूचना दिए पनि बक्यौता रकम नतिरेकाले अन्ततः आपूर्ति रोक्ने कदम चालिएको प्राधिकरणले जनाएको छ ।
असुली अभियानलाई निरन्तरता दिँदै बाँकी रहेका अन्य उद्योगहरूमाथि पनि क्रमशः कारबाही अघि बढाइने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा समेत उद्योगहरूले बक्यौता बुझाउन सक्ने गरी विशेष काउन्टरको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस