विराटनगर । स्थानीय स्रोत र साधनलाई पहिचान गरेर थोरै लगानीमा पनि ठूलो सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण विराटनगर–२ शंकरपुरकी लीला निरौला रिजालले प्रस्तुत गरेकी छन् । सात वर्षदेखि बाँसका विभिन्न सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएकी उनी अहिले महिला उद्यमशीलताको प्रेरणादायी नाम बनेकी छन् ।
रिजालले आफ्नो व्यवसायिक यात्रा २०७० सालमा सुरु गरेकी हुन् । सुरुमा उनले क्रिस्टलका सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्थिन् । तर, समय परिवर्तनसँगै बजारको माग बुझ्दै उनले सात वर्षअघि उद्योगको स्वरूप नै परिवर्तन गरिन् र बाँसबाट निर्माण हुने आकर्षक हस्तकला उत्पादन सुरु गरिन् ।

शुभलक्ष्मी हस्तकला उद्योग’, जहाँ अहिले विभिन्न किसिमका गिफ्ट आइटमहरू, नेपाल र कोशी प्रदेशका नक्सासहितका कलात्मक फ्रेमहरू, मन्दिर तथा घरका नमुना संरचना र सजावटका सामग्रीहरू निर्माण हुने गर्छन् । पाँच लाख रुपैयाँबाट सुरु गरिएको यो उद्योगमा अहिले लगानी १५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । उनले ४ जना महिलालाई रोजगारी दिएकी छन् ।
रिजालका अनुसार उद्योगमा उत्पादन हुने वस्तुहरू कोशी प्रदेशका विभिन्न जिल्लाहरू र काठमाडौंसम्म बिक्री वितरण हुने गरेका छन् । विशेषतः प्रदेशका पर्यटकीय स्थलहरूको नक्सा समावेश भएका फ्रेमहरू अर्डरमा बढी बनाउने गरिएको रिजालले बताइन् ।
विवाहका अवसर, उपहार आदानप्रदानका कार्यक्रम तथा विभिन्न उत्सवका लागि उनका गिफ्ट आइटमहरू धेरै लोकप्रिय छन् । स्थानीय स्रोत–साधनको प्रयोग र हातले निर्मित कलात्मकताका कारण यी सामाग्रीहरू आकर्षक र मौलिक देखिन्छन् । घर सजावटका लागि समेत धेरैले यी वस्तुहरू रोज्ने गरेका छन् । यसरी, उनले स्थानीय स्रोतको सदुपयोग गर्दै “स्थानीय उद्यम, स्थानीय पहिचान”को उदाहरण स्थापना गरेकी छन् ।

तर, यति हुँदाहुँदै पनि बजार व्यवस्थापनमा चुनौती रहेको रिजाल बताउँछिन् । उनी भन्छिन् “हामीले आफ्नै हातले बनाएका नेपाली हस्तकला वस्तुहरूलाई ठूला बजार र पर्यटकीय क्षेत्रसम्म पुर्याउन सके, नेपाली कलाको पहिचान विश्वभर फैलिन सक्छ ।”
उनको सुझाव छ, ''एयरपोर्ट र विदेशी पर्यटक आउने स्थानहरूमा स्थानीय हस्तकला उत्पादनको विक्री वितरण प्रणाली विकास गर्न सके, यसले देशकै आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ गर्न मद्दत गर्नेछ ।''

आगामी दिनमा रिजालले उद्योगमा लगानी बढाउने र थप जनशक्ति रोजगारीमा समावेश गर्ने योजना बनाएकी छन् । उनी भन्छिन्, “हामीले लगानी बढाएर उत्पादन विस्तार गर्दै गर्दा, स्थानीय र प्रदेश सरकारले पनि हस्तकला सामाग्रीको बजारीकरणमा सहजीकरण गर्नुपर्छ ।”
शंकरपुरकी लीला रिजालको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई स्थानीय स्रोत र सिपले आर्थिक सशक्तीकरणका आधार बन्न सक्छन् । उनको हिम्मत र लगनले देखाएको बाटो अरू महिला उद्यमीका लागि प्रेरणाको स्रोत बनेको छ ।





















प्रतिक्रिया दिनुहोस