२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो छ : अभिनेता सौगात मल्ल

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । चर्चित अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको आफ्नो नयाँ चलचित्र ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालको वर्तमान प्रभावमा आधारित रहेको बताएका छन्।

विश्वभर भाइरल हुने होडबाजी र त्यसले व्यक्तिको जीवनमा पार्ने आरोह-अवरोहलाई चलचित्रले रोचक ढंगले प्रस्तुत गर्ने उनले जानकारी दिए।

चलचित्रका बारेमा बोल्दै मल्लले यो केवल टिकटकको कथा मात्र नभएर समाज र परिवेशसँग जोडिएको विषयवस्तु भएको स्पष्ट पारे। "भाइरल हुन जति मेहनत चाहिन्छ, त्यहाँ टिकिरहन झनै गाह्रो हुन्छ। एउटा सामान्य मान्छेको भाइरल हुने लालसा र त्यसले निम्त्याउने परिणामलाई हामीले पर्दामा उतारेका छौँ," उनले भने। उनले चलचित्रको पटकथा समयसान्दर्भिक र मनोरञ्जनात्मक भएकाले आफू यसमा काम गर्न आकर्षित भएको समेत बताए।

मल्लका अनुसार चलचित्रमा भाइरल शब्द समेत उच्चारण गर्न नजान्ने एक पात्रको 'भाइरस' बाट 'भाइरल' सम्मको यात्रा समेटिएको छ। यसले अहिलेको सामाजिक सञ्जालको प्रवृत्तिलाई व्यङ्ग्य गर्नुका साथै दर्शकको मन छुने उनको दाबी छ।

त्यस्तै, अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले पनि सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावलाई चलचित्रले व्यङ्ग्यात्मक रूपमा देखाएको बताइन्। पटकथा पढ्दा नै आफूलाई यो विषयवस्तुले निकै प्रभावित पारेको उनले उल्लेख गरिन्। मानिसहरू भाइरल हुनका लागि कुन हदसम्म पुग्छन् भन्ने कुरा कथामा निकै मार्मिक र रमाइलो गरी उनिएको उनले जानकारी दिइन्।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रमा सौगात र सृष्टिका साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र पत्रकार ऋषि धमला लगायतको अभिनय रहेको छ। सामाजिक सञ्जालको दबदबा रहेको वर्तमान समयमा यो चलचित्रले दर्शकलाई राम्रो मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ