काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन चालु बजेटबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य बीमा बोर्डलाई तत्काल जोगाउन मन्त्रालयका २२ वटा चालु शीर्षकबाट रकम झिकिएको हो। “स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा पुगेपछि बोर्डलाई सञ्चालनमै राख्नुपर्ने अवस्था आयो,” उनले भने, “त्यसैले कम प्राथमिकताका शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेका छौँ।”
उनका अनुसार मन्त्रालयले अन्य मन्त्रालय र निकायसँग पनि थप रकमान्तर गर्न मिल्ने बजेटबारे छलफल गरिरहेको छ। साथै, अर्थ मन्त्रालयलाई समेत अन्य मन्त्रालयका बजेटबाट स्वास्थ्य बीमाका लागि रकम व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेटभित्र रहेर कम महत्त्वका कार्यक्रमको रकम सार्न सक्ने कानुनी प्रावधानअनुसार रकमान्तर गरेको जनाएको छ। स्वास्थ्य बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि धेरै अस्पतालले बीमा कार्यक्रम स्थगित गरेका थिए, जसका कारण मन्त्रालयमाथि दबाब बढेको हो।
मन्त्रालयको निर्णयपछि अर्थ मन्त्रालयले उक्त रकम स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ। रकमान्तर गरिएका शीर्षकहरू ५ लाखदेखि ५० करोड रुपैयाँसम्मका रहेका र ती कार्यक्रम कटौती गर्दा ठूला असर नपर्ने प्रवक्ता बुढाथोकीले जानकारी दिए।
यसअघि स्वास्थ्य बीमाको अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्दै सम्बन्धित निकायको बैठक बोलाएर आवश्यक परे ऋण लिएर पनि स्वास्थ्य बीमा बोर्डका लागि स्रोत सुनिश्चित गर्न निर्देशन दिएकी थिइन्।
बोर्डले सेवा प्रदायक अस्पताललाई हालसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यो दायित्व प्रत्येक महिना झण्डै २ अर्ब रुपैयाँका दरले बढ्दै जाने जोखिम रहेको छ। भुक्तानी नपाएको भन्दै ठूला सरकारी अस्पतालहरूले समेत बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि मन्त्रालयले तत्काल राहतस्वरूप रकम रकमान्तर गरेको हो।
प्रतिक्रिया दिनुहोस