logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ देउवासँग चुनौतिसँगै अवसर पनि छ : पूर्व राजदूत सिम्खडा

    बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ देउवासँग चुनौतिसँगै अवसर पनि छ : पूर्व राजदूत सिम्खडा

    4K
    Shares

    नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

    यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउला कि भन्ने आशा आम मानिसले गरेका छन् । योसँगै छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुधार हुने आशा पनि गरिएको छ । तर अब प्रधानमन्त्री देउवाले मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई कसरी सुधार्लान् भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्री देउवामा मित्रराष्ट्र र छिमेकीराष्ट्रहरुसँगको छवि सुधार्ने चुनौति र अवसर छ । यसै विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले पुर्व राजदूत एवंम् परराष्ट्रविद् शम्भुराम सिम्खडासँग कुराकानी गरेको छ । 
     
    नयाँ सरकार गठन भएको छ, वैदेशिक चासोको विषय त्यत्तिकै छ, अब यो सरकारको वैदेशिक सम्बन्ध र त्यसका प्राथमिकताहरु के–के हुन सक्छन् ?

    यसमा दुईवटा पक्ष धेरै नै महत्वपूर्ण छ । एउटा वैदेशिक सम्बन्ध वा कुटनीतिलाई आन्तरिक राजनीतिको प्रतिबिम्ब भनिन्छ । आन्तरिक राजनीतिको सम्बन्ध कुटनीतिमा अत्यन्त महत्वपूर्ण हुन्छ । दोश्रो नेपालको परराष्ट्रनीतिका केही मुलभूत आधारहरु छन् । परराष्ट्रनीति भनेको कन्टीन्यूटीमा चल्ने विधा हो । अर्को सरकार आयो, भनेर नीति परिवर्तन हुँदैन । परम्परागत परराष्ट्रनीतिका मुलभूत आधारमा टेकेर अहिलेको सरकारले सबैभन्दा पहिला कुटनीति दुईवटा एरियामा कन्सटेट गर्नुपर्छ । एउटा भ्याक्सिन कुटनीति नै भनौँ । अहिलेको सबै जनताको चाहना आवश्यक्ता र खाँचो भनेकै जनताले यथाशीघ्र खोप लगाउनु पर्यो र आफूलाई सुरक्षित फिल गर्नुपर्यो । यो पहिलो प्राथमिकता हो । दोश्रोमा विकास कुटनीति भनौँ वा आर्थिक कुटनीति । 

    कोभिड महामारीले अत्यन्त पीडित जनता र थलिएको अर्थ व्यवस्था । जनतालाई पनि राहत चाहिएको छ । राहत दिनका लागि आर्थिक पक्षलाई सबल र चलायमान बनाउन आवश्यक छ । यो दुवैको लागि एकदमै सक्रिय र प्रभावकारी कुटनीति अत्यावश्यक छ । व्यापार, रेमिट्यान्समा निर्भर हाम्रो कुटनीतिले वैदेशिक रोजगारीमा प्रभाव लगायतलाई प्रभावकारी बनाउने बित्तिकै यथाशीघ्र भ्याक्सिनको उपलब्धता गराउनु पर्छ । अर्थ व्यवस्थालाई चलायमान गर्नको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि त्यत्तिकै आवश्यक छ । सरकारले कोरोनाविरुद्धको भ्याक्सिन आफ्नो पहिलो प्राथमिकता भनेर घोषणा पनि गरिसकेको छ ।

    यो तत्कालको कुरा मात्रै हो । यो भन्दा पहिलाको हाम्रो स्थिति आन्तरिक राजनीतिको अनिश्चितता थियो । हामीले भोगिरहेको राजनीतिक संक्रमणको व्यवस्थापन उत्तेजित, इमोशनल, पोलोराइज र राजनीतिक शक्तिहरुको बीचमा टकराव भएर सम्भव हुँदैन । त्यसका लागि एउटा यस्तो व्यक्तिको आवश्यक्ता छ, जसले कोलेशन बीड गर्नसक्छ । जो माइल्ड किसिमको व्यवहार गर्नसक्छ । आज एउटा कुरा र भोलि अर्को कुरा ,एक ठाउँमा गयो एउटा र अर्को ठाउँमा गयो अर्को कुरा गरेर अहिलेको संसारमा प्रभावकारी कुटनीति हुँदैन । परम्परागत रुपमा पहिला राजदूतलाई आफ्नो देशको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका निम्ति ढाँट्नलाई बाहिर पठाएको भन्ने चलन थियो । तर अब त्यसरी कुटनीति चल्दैन अहिलेको कुटनीति भनेको विश्वास, विश्वसनीयताको आधारमा चल्छ । त्यो हिसावले हेर्ने हो भने वर्तमान प्रधानमन्त्री अरु कमीकमजोरीका कुरालाई छोडेर एकदमै उत्कृष्ट हुनुहुन्छ । 

    प्रधानमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु हेर्दा विगतको अनुभवका कारण हामीमा धेरै चिन्ता, शंका रहेको छ तर उहाँको स्वभाव परराष्ट्रनीतिमा अत्यन्त उपयोगी किसिमको छ । धेरै बोल्नुहुन्न, प्रोफेसनलहरुको भर पर्नुहुन्छ, त्यो हिसावले तत्कालका यी दुई प्राथमिकता हुँदाहुँदै पनि अरु धेरै महत्वपूर्ण प्राथमिकताहरु छन्, ती प्राथमिकतालाई अघि बढाउन यो अनिश्चितताको परिवेशबाट एक किसिमको निश्चितताको नेतृत्व उहाँमा छ । त्यसैले पनि वर्तमान सरकारमा परराष्ट्रनीतिका सहजताको माहोल छ ।

    झण्डै बाटो विराएको जस्तो अवस्थामा पुगिसकेको कुटनीतिलाई शान्त स्वभावको व्यक्तिले कसरी समन्वय गर्ने, यसमा केही सुझाव छन् कि ?

    छन् । पहिलो कुरा त हाम्रो मुलभूत आधार भनेको सबैसँग मित्रता हो । यो आधारमा टेकेर केही प्राथमिकता निर्धारण गरेका छौँ । यी मध्ये पहिलो प्राथमिकता भनेको दुई विशाल र अत्यन्त शक्तिशाली छिमेकीहरुको  बीचमा भएको हुनाले उनीहरुसँगको विश्वसनीयताको कुटनीति हो । विश्वसनीयताको आधारमा हाम्रा मुलभूत आवश्यक्ताहरु के के हुन्, हाम्रा चाहनाहरु के हुन्, उनीहरुका आवश्यक्ताहरु के हुन्, उनीहरुका चाहनाहरु के हुन्, यी दुई वटाकै बीचमा सामञ्जस्य कसरी ल्याउने ? ताकी हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ उनीहरुसँगको सम्बन्धबाट उनीहरुको पनि पूर्ति हुन्छ र हाम्रो पनि पूर्ति हुन्छ । 

    मुल कुरा छिमेकीसँगको सम्बन्धमा उच्चस्तरमा एक किसिमको विश्वसनियताको वातावरण बनाउनुपर्छ । दोश्रो कुरा, त्यसपछि नेतृत्वले निर्धारण गरेको वृहत मार्गदर्शन छ, त्यो मार्गदर्शनअन्तर्गत अत्यन्त प्रभावकारी किसिमबाट त्यसलाई सञ्चालन गर्न सक्ने उहाँको टिम बन्छ । परारष्ट्रमन्त्री, परराष्ट्र सल्लाहकार, परराष्ट्रको टिम अत्यन्त सक्रिय र पोख्त किसिमको छ । अहिलेको विश्व राजनीतिक र रणनीतिक बदलिँदो व्यवस्थामा यो क्षेत्रको महत्व, त्यसमा पनि हाम्रो हिमालको दक्षिण भाग, नेपालको परम्परागत भू राजनीतिक संवेदनशीलता र त्यो संवेदनशीलताका आधारमा परिवर्तित कुराहरु के के हुन् ? 

    त्यस्तोलाई राम्रोसँग नेतृत्व गर्न सक्ने सहयोगी टिम चाहिन्छ । यो दोश्रो कुरा हो । तेश्रो कुरा, हाम्रा जति पनि देशहरुसँग मुल विषयहरु छन्, एउटा भ्याक्सिनकै कुरा छ, भारतबाट आउने भनेको आइसकेको छैन । कुटनीति तवरबाट प्रभावकारी रुपमा भारत सुरक्षित हुनलाई नेपाली पनि सुरक्षित हुनुपर्छ, नेपालीले पनि खोप पाउनुपर्‍यो । भारतीयहरुले पनि पाउनुपर्यो । नेपाललाई खोपको प्राथमिकतामा राख्नु भारतका लागि आफ्नै हितमा छ भन्ने कुरा एक नम्बर भयो । चीनले अहिले विश्वव्यापी रुपमा यति धेरै भ्याक्सिन उपलब्ध गराइसकेको छ कि, हिजो नै हाम्रो प्रभावकारी कुटनीति भएको भए, हाम्रो जस्तो सानो आपूर्ति परिपूर्ति गर्नलाई चीनलाई त्यति ठूलो कुरा थिएन । पहिला त हामीले चीनसँग भ्याक्सिन नै लिने कि नलिने अलमलमा बस्यौँ । अहिले बाध्य भएर चीनसँग पनि सम्झौता भएको छ । भ्याक्सिन समयमा पाउनु आवश्यक्ता हो र त्यस बारेमा छलफल हुनुपर्‍यो । त्यो बाहेक अरु व्यापार घाटा लगायतका विषयहरु पनि छन्, सीमाका विषय छन्, अब अहिले बाढीको कुरा छ, वर्षातको समय छ, यता पानी पर्छ, बाढी आउँछ, उता पनि क्षति हुन्छ । यी यावत विषयहरुमा प्रभावकारी रुपमा पहिला नेतृत्वले मार्ग निर्देशन गर्दछ, सहयोगी टिमले राम्रो र प्रभावी गृहकार्य गर्छ र त्योबाट दुई देशसँग कुटनीति सञ्चालन हुन्छ । यसरी हाम्रो सम्बन्धलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छौँ ।

    शेर बहादुर देउवा आफैँमा नयाँ व्यक्ति होइन, पाँचौ पटक प्रधानमन्त्री बन्नुभएको छ, उहाँसँग व्यक्तिगत रुपमा पनि अन्तर्राष्ट्रिय सम्बन्धहरु छन्, यसलाई कसरी विश्लेषण गर्न सकिन्छ ?

    उहाँको विश्वसनियता छ । उहाँ जे कुरा भन्नुहुन्छ, त्यो गर्नुहुन्छ, नहुने कुरा भन्नुहुन्न । फल्स पनिस्मेन्ट दिँदै जानुहुन्न भन्ने एउटा जुन छाप छ, त्यो कुटनीतिको लागि अत्यन्तै सकारात्मक छ । अब दोश्रो कुरा, अहिले संसारमा चर्चित इतिहासकार युवाल न्हो होरारी छन् । उनका तीनवटा पुस्तक संसारमै सबैभन्दा उत्कृष्ट छन् । छेपियन्ज, ट्वान्टी वान फर्मुला फर द ट्वान्टी वान सेञ्चुरी, २१ औँ शताब्दीको लागि २१ वटा मुल मन्त्रहरु भन्ने दोश्रो र तेश्रो होमो ड्यूज भन्ने छ । यो भनेको प्रविधिबाट कसरी मानिस भगवान बन्न खोज्दै छ ? भन्ने पुस्तकमा उनले मानिसले किन इतिहास पढ्छ भनेँ त्यसैको बन्दी हुन होइन, त्यसबाट मुक्ति पाउन पढ्छ भन्ने लेखिएको छ । यसको मतलब पुरानै कुराहरु दोहोरिने हुन् कि भनेर विगतमा भएका कमी कमजोरीहरुले मानिसमा शंका छ, चिन्ता छ । यसको मतलव इतिहासले हामीलाई पाठ सिकाउँछ ।

    सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा जीमा पहिलो त अनुभव छ, अनुभवको छोटकरी छँदै छैन । अनुभव भनेको स्वयंले भोगेपछि मात्रै थाहा हुन्छ । दोश्रो पक्ष उहाँले इतिहासमा के के राम्रा पक्षहरु भए र के के कमी कमजोरी भए ? त्यो अनुभूत गर्ने बेला छ । राजनीति र कुटनीति भनेको एक व्यक्ति र विधा होइन, यो टिमको काम हो । नेतृत्वले भिजन दिन्छ, त्यसलाई रुपान्तरण गर्ने र कार्यरुप दिने टिम नै हो । अब टिम कस्तो आउँछ । कुटनीतिको हिसावले एकदमै सहज व्यक्तित्वलाई हामीले नेतृत्वमा पाएका छौँ । तर सफलताको कसी भनेको उहाँले कस्तो टिम बनाउनु हुन्छ, त्यसमा निर्भर रहन्छ ।

    अहिलेको विश्व राजनीति बुझेको र त्यसकै आधारमा यसलाई प्रभावकारि रुपमा व्याख्या गर्न सक्ने, सञ्चालन गर्न सक्ने, आफ्ना कुरा राख्न सक्ने, वहाँको भिजनलाई राम्रोसँग लागू गर्न सक्ने यस्तो टिम भयो भने उहाँको कार्यकाल सफल बन्नेछ । उहाँ अहिले छोटो र कठीन स्थितीमा प्रधानमन्त्री बन्नुभएको छ । तर त्यति हुँदाहुँदै पनि प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ चुनौतिसँगै अवसर पनि छ । कोरोनालाई निस्तेज बनाउँदै निश्चित दिशामा देशलाई लैजाने र अन्तर्राष्ट्रिय कुटनीतिमा पनि प्रभावकारी रुपमा नयाँ दिशा र थालनी हुनसक्छ भन्ने विश्वास राख्छु ।

    प्रधानमन्त्रीको सल्लाहकारको टिममा पर्नुभयो भने तपाईँका कार्यसूची के–के हुन सक्छन् ?

    एक नम्बरमा तत्काल भ्याक्सिन । दोश्रोमा विकास कुटनीति, हाम्रो सम्पूर्ण ध्यान देश र जनताको विकासमा केन्द्रित हुनेछ । त्यसको लागि सरकारलाई खोप लगाउने सहयोगको भुमिका छ । तेश्रोमा हाम्रो सानो देश दुई ठूला छिमेकीको बीचमा भएकाले विश्वासको कुटनीति रहेको छ । कहिलेकाहीँ छिमेकीलाई प्राथमिकता दिँदा अरु मित्र राष्ट्रहरुले हामीलाई हेला गरेको हो कि भन्ने पार्नुहुँदैन । सबैभन्दा पहिला हामीले बेलायत, त्यसपछि अमेरिकालाई  मित्रराष्ट्र बनाएका थियौँ ।

    यी हाम्रा परम्परागत मित्रहरुलाई पनि तपाईहरुको सहयोग र तपाईहरुको मित्रतालाई हामीले अत्यन्त महत्वका साथ अघि बढाउन चाहन्छौँ भन्ने चौथो पाटो हो । यसमा संयुक्त राष्ट्रसंघ छ, यसको बडापत्र र संलग्नता । जुन हाम्रो कुटनीतिको आधारशीला हो । यी सिद्धान्तहरु भएकोले राष्ट्रसंघमा हाम्रो प्रभावशाली भूमिका भयो भने धेरै हदसम्म कुटनीति सफल हुन्छ । किनभने हाम्रो २०,३० वटा देशमा मात्रै दुतावास छ । त्यसैले राष्ट्रसंघबाट संसारभर सञ्चार प्रवाह हुन्छ । हाम्रो कुटनीति कस्तो छ ? हाम्रो व्यक्तित्व कस्तो छ ? हाम्रो सरकारको दृष्टिकोण कस्तो छ भन्ने हुन्छ । त्यसैले राष्ट्रसंघमा अत्यन्त प्रभावकारी भूमिका आवश्यक छ । त्यस्तै क्षेत्रीय सहयोग । अहिले हाम्रो छिमेक वरपर भएका सद्भावहरु प्रयोग गरेर हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई अघि बढाउनुपर्छ ।      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend