वासिङ्टन डिसी । इरानसँग जारी द्वन्द्वका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप सैन्य कदम चाल्ने तयारी गरेका छन् । यसै क्रममा अमेरिकी सेनाको ८२ औँ एयरबर्न डिभिजनका हजारौँ सैनिकहरू पश्चिम एसियातर्फ तैनाथ हुन थालेका छन् ।
रोयटर्सले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार नर्थ क्यारोलिनास्थित फोर्ट ब्रागबाट प्रस्थान गरेका प्याराट्रूपरहरू इरानविरुद्ध सम्भावित स्थलगत कारबाहीका लागि तयार अवस्थामा राखिएका छन् । यसअघि नै करिब २५ सय मरिन सैनिक उक्त क्षेत्रमा पुगिसकेका छन् भने नयाँ टोलीमा मुख्यालयका सदस्य, बन्दोबस्ती सामग्री र ब्रिगेड कम्ब्याट टिम समेत समावेश गरिएको छ ।
अमेरिकी प्रशासनले तत्काल इरानभित्रै सेना पठाउने अन्तिम निर्णय नगरेको भए पनि भविष्यका सम्भावित सैन्य आवश्यकतालाई ध्यानमा राख्दै तैनाथी बढाइएको बताइएको छ ।
यसबीच ट्रम्प प्रशासनभित्र इरानको मुख्य तेल निर्यात केन्द्र खर्ग टापु कब्जा गर्ने विषयमा गम्भीर छलफल भइरहेको जनाइएको छ । यद्यपि उक्त कदम जोखिमपूर्ण रहेको सैन्य विश्लेषकहरूले बताएका छन्, किनकि इरानले सो क्षेत्रमा मिसाइल तथा ड्रोनमार्फत प्रतिकार गर्न सक्ने सम्भावना छ ।
त्यसैगरी, इरानभित्रै प्रवेश गरी उच्च संवर्धित युरेनियम कब्जा गर्ने वा नष्ट गर्ने विकल्पमा पनि अमेरिकी पक्षले विचार गरिरहेको छ । यस्तो अभियानका लागि लामो समयसम्म इरानी भूमिमा सैन्य उपस्थिति आवश्यक पर्ने बताइएको छ ।
साथै, स्ट्रेट अफ होर्मुज हुँदै तेल ट्याङ्करहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न इरानको तटीय क्षेत्रमा सैनिक उतार्ने विकल्प पनि अमेरिकाको योजनामा रहेको छ ।
राष्ट्रपति ट्रम्पले सोमबार जारी गरेको वक्तव्यमा युद्ध अन्त्यका लागि ‘बुद्धिमानी इरानी सरकार’सँग वार्ता भइरहेको दाबी गरेका छन्। तर उनले होर्मुज जलडमरू खोला अवरुद्ध गरिए इरानका तेल कुवा र ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी समेत दिएका छन् ।
गत फेब्रुअरी २८ देखि सञ्चालनमा रहेको ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत अमेरिकाले हालसम्म ११ हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिसकेको जनाएको छ। उक्त द्वन्द्वमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।
नयाँ द्वन्द्वमा नफस्ने चुनावी वाचा गरेका ट्रम्पका लागि इरानमा स्थलगत सेना पठाउने निर्णय अमेरिकी जनमत कमजोर रहेका बेला राजनीतिक रूपमा चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस