वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी भीषण द्वन्द्व छिट्टै अन्त्य हुने संकेत दिएका छन् । ओभल अफिसबाट सम्बोधन गर्दै ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना इरानबाट फिर्ता हुने प्रक्रिया सुरु हुने जानकारी दिएका हुन् ।
ट्रम्पले इरानमा अमेरिकी सैन्य लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब युद्ध लम्ब्याउनु आवश्यक नरहेको बताएका छन् । हामी छिट्टै इरान छोड्दैछौं, त्यसपछि इन्धनको मूल्यमा भारी गिरावट आउनेछ, ट्रम्पले भने । उनले युद्ध अन्त्यका लागि इरानसँग कुनै विशेष डिल वा सम्झौता हुनैपर्छ भन्ने अनिवार्य नरहेको समेत स्पष्ट पारेका छन् ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान सकारात्मक रहेको बताएका छन् । यद्यपि, उनले इरानी जनताको सुरक्षा र राष्ट्रिय स्वार्थको पूर्ण ग्यारेन्टी हुनुपर्ने सर्त अघि सारेका छन् । इरानले यदि फेरि आक्रमण नहुने सुनिश्चितता भए आफूहरू वार्ता र शान्तिका लागि तयार रहेको संकेत दिएको छ ।
अमेरिका युद्धबाट हात झिक्ने तयारीमा रहे पनि इजरायलको धारणा भने आक्रामक देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको संघर्ष कहिले टुंगिन्छ भन्ने विषयमा कुनै निश्चित डेडलाइन दिन नसकिने बताएका छन्। नेतन्याहुले इरानी शासनलाई पूर्ण रूपमा कमजोर नबनाएसम्म इजरायलले आफ्नो अभियान जारी राख्ने संकेत दिएका छन् ।
गत फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि खाडी क्षेत्रको राजनीतिमा ठूलो हलचल पैदा भएको छ । खामेनीको मृत्युपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको खबरहरू सार्वजनिक भए पनि उनको आधिकारिक उपस्थितिबारे अझै पुष्टि हुन सकेको छैन ।
यो युद्धका कारण खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारहरूमा इरानले निरन्तर जवाफी हमला गरिरहेको छ । जसका कारण विश्व बजारमा इन्धन आपूर्ति प्रभावित भएको छ र महँगी बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस