काठमाडौं । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी सदस्यका उम्मेदवार राजेशकुमार अग्रवालले नेपालमा औद्योगिक विकासका लागि उद्योग स्थापना लागत घटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
“सुनौलो नेपाल”सँगको कुराकानीमा उनले हाल देशका उद्योगहरू दिगो हुन नसक्नुको मुख्य कारण उच्च लागत रहेको बताए। “उद्योग स्थापना गर्न अत्यधिक खर्च लाग्छ । यदि सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिन्छ भने लागत घटाउनेतर्फ विशेष ध्यान दिनुपर्छ,” उनले भने ।
अग्रवालले उद्योग सञ्चालनमा ढिलाइ र जटिल प्रक्रियालाई पनि प्रमुख समस्याका रूपमा औंल्याए । उद्योग स्थापनाका लागि अनुमति लिनै वर्षौँ लाग्ने अवस्थाले लगानीकर्तामा निराशा बढाएको उनको भनाइ छ । “तीनदेखि दस वर्षसम्म अनुमति प्रक्रियामै समय लाग्दा धेरै परियोजनाहरू अघि बढ्न सक्दैनन्,” उनले उल्लेख गरे ।

उनले सरकारले उद्योगमैत्री वातावरण बनाउन जग्गा, विद्युत्, सडक पहुँच र सस्तो ऋणजस्ता आधारभूत सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । नेपाल स्थलरुद्ध देश भएकाले भारत र चीनजस्ता ठूला उत्पादनकर्तासँग प्रतिस्पर्धा गर्न लागत घटाउनु अपरिहार्य रहेको उनको तर्क छ ।
नयाँ सरकारप्रति आशावादी देखिएका अग्रवालले नीतिगत सुधारको घोषणा स्वागतयोग्य भए पनि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । “घोषणा मात्र होइन, कार्यान्वयन महत्वपूर्ण हुन्छ । नियम परिवर्तन भए पनि व्यवहारमा सुधार देखिनुपर्छ,” उनले भने ।
अग्रवालले अर्थतन्त्र चलायमान बनाउन सरकारी खर्च वृद्धि गर्नुपर्ने धारणा राखे । “राजस्व संकलनभन्दा पनि खर्च बढाउन आवश्यक छ, किनकि खर्चले नै अर्थतन्त्रलाई चलायमान बनाउँछ,” उनले बताए ।
दीर्घकालीन नीतिको आवश्यकता औंल्याउँदै उनले उद्योग विकासका लागि स्थिर र निरन्तर नीति आवश्यक रहेको बताए । “उद्योग स्थापना गर्नु भनेको दीर्घकालीन प्रक्रिया हो, त्यसैले नीति बारम्बार परिवर्तन गर्नुहुँदैन,” उनले भने ।

आगामी निर्वाचनबारे बोल्दै अग्रवालले आफ्नो टिम अनुभवी र व्यवसायिक पृष्ठभूमिबाट आएको दाबी गरे । विजयी भएमा देशको आर्थिक विकासमा सकारात्मक योगदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
उनले निजी क्षेत्र र सरकारबीच सहकार्यबाट मात्र आर्थिक प्रगति सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/9dYphBv_DLA
प्रतिक्रिया दिनुहोस