काठमाडौं । सुरक्षित भविष्य र आर्थिक भरोसाको पर्याय बनेको सानिमा रिलायन्स इन्स्योरेन्सले कसरी व्यक्तिको जीवन बदल्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन्, सरस्वती खड्का । आज उनी सानिमा रिलायन्सको एउटा कुशल प्रतिनिधि मात्र होइनन्, कम्पनीको उच्च मूल्य–मान्यतालाई जनमानसमा पुर्याउने एक मजबुत खम्बा र भरोसाको प्रतीक बनेकी छन् ।
संघर्षबाट जन्मिएको सफलता :
जीवनमा सफलता कहिल्यै सजिलै प्राप्त हुँदैन । त्यसका लागि आवश्यक पर्छ अथक मिहिनेत, अटल धैर्यता र आफूलाई विश्वास गर्ने साहस । यस्तै उदाहरणीय र प्रेरणादायी पात्रको रूपमा सरस्वती खड्काले आफूलाई बीमा क्षेत्रमा स्थापित गरेकी छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालीका, जितपुरकी सरस्वती खड्काको जीवन अहिले धेरैका लागि एउटा जीवन्त पाठशाला बनेको छ । वि.सं. २०७८ सालमा सानिमा रिलायन्स इन्स्योरेन्सको दैलो टेक्दा उनीसँग न त बीमाको ठुलो ज्ञान थियो, न त परिवारको पूर्ण साथ । तर आज ठिक ५ वर्षपछि उनी त्यही कम्पनीको वरिष्ठ एजेन्सी मेनेजरका रूपमा मात्र होइन, एक सफल नेतृत्वकर्ताका रूपमा उभिएकी छन् ।
समाजशास्त्रमा स्नातक गरेकी सरस्वतीको शुरुआती यात्रा निकै चुनौतीपूर्ण थियो । बीमाको ’ब’ पनि नबुझी यस क्षेत्रमा होमिएकी उनलाई सुरुमा पोलिसीका बारेमा बुझाउन निकै कठिन भयो । घरको जिम्मेवारी एकातिर थियो भने अर्कोतिर श्रीमानको असहयोग । सुरुका दिनमा त उनले परिवारलाई थाहै नदिई, लुकीछिपी र विभिन्न बहाना बनाएर फिल्डमा जानुपथ्र्यो । समाजको हेराइ पनि उस्तै थियो; बीमाको कुरा सुन्नेबित्तिकै मानिसहरू तर्किने, लुक्ने र कतिपयले त कटु वचन समेत लगाउँथे ।
तर सरस्वतीले हार मान्नुको साटो धैर्यता र इमानदारिताको बाटो रोजिन् । एउटै बीमा पोलिसीका लागि उनले ५ वर्षसम्म निरन्तर फलोअप गरेको अनुभव छ, जसले उनको गजबको सहनशीलतालाई दर्शाउँछ ।
समय बित्दै जाँदा उनको मिहिनेतले रङ ल्याउन थाल्यो । सुरुमा विरोध गर्ने परिवार अहिले उनको सफलताको खम्बा बनेको छ । उनले आफ्नै परिवारका ५ सदस्यको बीमा गराएर सुरक्षाको सुरुवात घरैबाट गरिन् । आज उनले ५०० भन्दा बढी व्यक्तिहरूको बीमा पोलिसी जारी गरिसकेकी छन् भने एउटै परिवारका ८ जनासम्मलाई बीमाको सुरक्षा चक्रमा बाँध्न सफल भएकी छन् । उनले र २०२६ मा एमडिआरटी समेत प्राप्त गरिसकेकी छन् र अहिले ‘सिओटी’ को दौडमा छिन् ।
सरस्वतीको कार्यकुशलता उनको टिममा पनि देखिन्छ । हाल उनको नेतृत्वमा ६० जनाभन्दा बढी अभिकर्ताहरू सक्रिय छन् । उनी केवल अफिस र फिल्डमा मात्र सीमित छैनन्, प्रविधिसँगै अघि बढ्दै टिकटक जस्ता सामाजिक सञ्जालमार्फत बीमाको सकारात्मक पक्षबारे जनचेतना फैलाउन पनि उत्तिकै सक्रिय छिन् । बीमा बाहेक उनी गायन र सिलाईकटाईमा पनि पोख्त छिन्, जसले उनको बहुआयामिक व्यक्तित्वलाई झल्काउँछ ।
“मैले बीमा बाहेक अरू केही गर्ने सोच नै बनाइनँ,” उनी दृढताका साथ भन्छिन् । पूर्णकालीन रूपमा यसै क्षेत्रमा समर्पित सरस्वती खड्काको यो ५ वर्षे यात्राले के प्रमाणित गर्छ भने, यदि मनमा दृढ इच्छाशक्ति र कर्ममा इमानदारिता छ भने, जस्तोसुकै अवरोधलाई पन्छाएर सफलताको शिखर चुम्न सकिन्छ । आज सरस्वती खड्का सानिमा रिलायन्स इन्स्योरेन्सको एउटा नाम मात्र नभई, मेहनत गर्ने जोकोहीका लागि एउटा भरोसायोग्य उदाहरण बनेकी छन् ।
प्रतिक्रिया दिनुहोस