काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छाले प्रहरीलाई आफै कार्यालयमा आउने भनेका छन्। गोल्छा भैहरवा हुँदै भारत जान लागेको हल्ला फैलिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो।
‘प्रहरीबाट फोन आएको थियो। आवश्यक पर्दा तपाई प्रहरी कार्यालयमा आउनुपर्छ भन्नुभएको छ। मैले हुन्छ भनेको छ,’ गोल्छाले भने।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाले भट्टलाई जालसाजीपूर्ण कारोबारमा सघाएको देखिएको छ।
शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा कृतिम माग सिर्जना गराई दोस्रो बजार प्रणालीलाई झुक्याएर मूल्य बढाउने कार्य गरेको र त्यसका लागि गोल्छाले पैसा दिएर सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।
भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिबाट गरिएको कारोबारमा मुख्यगरी रुपमा दिपक भट्ट र तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसरी कारोबार गर्न दिएकोमध्ये ब्रोकर कम्पनीले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ।
प्रतिक्रिया दिनुहोस