logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा थपियो कोरोनाको नयाँ ‘कप्पा’ भेरियन्ट

    नेपालमा थपियो कोरोनाको नयाँ ‘कप्पा’ भेरियन्ट

    3.6K
    Shares

    काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कप्पा भेरियन्ट पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै नेपालमा अल्फा  (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा  (बी.१.६१७.१) पुष्टि भएको हो। 

    यी भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमणको जोखिम बढीरहेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन सबैलाई अनुरोध गरेका छन्। सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न उनले मन्त्रालयको तर्फबाट अनुरोध गरेका हुन्। 

    सहप्रवक्ता अधिकारीका अनुसार जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहबाट संकलित ४७ नमूना विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोगमा भारत पठाइएको थियो।

    उक्त नमूनाको जिनोमिक पहिचान गर्दा सबै नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको र जसमध्ये ३ वटामा थप उत्परिवर्तन ‘के४१७ एन म्युटेसन’ भेटिएको हो। जसलाई अहिले एवाई.१ नाम दिइएको छ।

     

     

    covid23.jpg

    बढ्दै कोरोना ग्राफ

    कोरोना संक्रमणको ग्राफ लगातार उकालो लागेको छ। मंगलबार २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३ हजार ८९९ मा संक्रमण पुष्टि भएको हो।

    सङ्क्रमित दैनिक थपिएसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ । 

    उपत्यकामा ७७४ सङ्क्रमित थपिए

    यसैगरी काठमाडौँ उपत्यकामा मंगलबार मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् । 

    एक हजार ७७८ ले जिते कोरोना 

    सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४.४ प्रतिशत रहेको छ । 

    यसैगरी सङ्क्रमणबाट मंगलबार २० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । 

    पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । 

    यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसीयू) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेसनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेसनमा दुई हजार ८९८ जना छन् ।  

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend