काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । शुक्रबार टियु मैदानमा भएको खेलमा नेपालले यूएईमाथि ६ रनको जित निकालेको हो ।
वर्षाका कारण डीएल मेथर्डअनुसार नेपालसँग जितका लागि ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
यूएईका लागि मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाए । त्यस्तै, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन जोडे ।
बलिङमा नेपालका सन्दीप लाछिमानेले ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी र नन्दन यादवले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गमाुएर २८९ रन बनाएको थियो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ९४ बलमा १३ चौका र एक छक्कासहित सय रन बनाए । त्यस्तै, ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए । उनले ७९ रनमा ५६ रनको योगदान दिए । रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ विकेट लिए । त्यस्तै, हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट लिए ।
यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो । अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस