काठमाडौँ । ओखलढुंगाका एक युवाको काठमाडौँमा शंकास्पद मृत्यु भएको छ ।
सिद्धिचरण नगरपालिका–२ ठूलाछापका २९ वर्षीय दिवस बुढाथोकीको धामीले दिएको ‘जडीबुटीजन्य औषधि’ सेवन गरेपछि ज्यान गएको उनका आफन्तले बताएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित तेजविनायक चोकमा बस्दै आएका बुढाथोकीलाई वैशाख १९ गते पेट दुख्ने समस्या देखिएपछि धामीले ‘खाना रुचाउने र पेट निको पार्ने’ भन्दै घोटेर खानु भनेर औषधि दिएका थिए ।
उक्त औषधि सेवन गरेलगत्तै उनको अवस्था एक्कासि बिग्रिएको बताइएको छ । त्यसपछि जिब्रो लाटो हुने, बान्ता र पखाला लाग्ने जस्ता लक्षण देखिएपछि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकका आफन्तका अनुसार उनले विदेश जाने सम्पूर्ण तयारी पूरा गरेका थिए । उनी मलेसिया जाने तयारीमा थिए ।
आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । औषधि दिने धामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
पोस्टमार्टमपछि शव परिवारले बुझिसकेको छ । मृतक बुढाथोकीका श्रीमती र ७ वर्षीय एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस