चितवन । पाँच दिनसम्म सञ्चालन भएको “चितवन अटो शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ । उक्त अटो शोले १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै व्यापक जनसहभागिता जुटाएको आयोजकले जनाएको छ ।
चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा वैशाख १७ गतेदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको कार्यक्रम पाँच दिनपछि सम्पन्न भएको हो ।
आयोजकका अनुसार प्रदर्शनी अवधिभर ३२१ वटा सवारीसाधन बुकिङ तथा बिक्री भएका छन् । जसमा ११४ वटा मोटरसाइकल, १४८ वटा कार र ५९ वटा भ्यान रहेका छन् । अटो शोमा १२ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
करिब ३० वटा कम्पनीको सहभागिता रहेको उक्त कार्यक्रममा ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल र स्कुटर प्रदर्शन गरिएको थियो । माइक्रोबस र भ्यानका लागि छुट्टै स्थान व्यवस्थापन गरिएको थियो भने मुख्य हल बाहिर पनि अतिरिक्त स्टलहरू राखिएका थिए ।
प्रदर्शनीमा आगन्तुकहरूले तत्कालै फाइनान्स तथा बीमा सेवा पाउने सुविधा समेत प्राप्त गरेका थिए । विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट र आकर्षक योजनाहरू प्रस्तुत गरेका थिए ।
समापन समारोह संयोजक राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा ध्रुवबहादुर थापा सहभागी थिए । साथै, लक्की ड्रमार्फत तीन जना ग्राहकलाई विशेष पुरस्कार समेत प्रदान गरिएको थियो ।
समग्रमा, चितवन अटो शो २०२६ ले अटोमोबाइल व्यापार प्रवर्द्धनसँगै उपभोक्ताको चासो बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको निष्कर्ष रहेको छ ।
प्रतिक्रिया दिनुहोस