काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि पर्यटन र सेवा क्षेत्रका स्थापित व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला) तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पूर्वी नेपालको झापास्थित पाँचतारे लक्जरी होटल ‘मेची क्राउन’ का सञ्चालक सापकोटाले ज्योत्स्ना श्रेष्ठ नेतृत्वको प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।
होटल र पर्यटन क्षेत्रमा लामो अनुभव र ठुलो लगानी बटुल्नुभएका सापकोटाको उम्मेदवारीलाई महासंघभित्र सेवा क्षेत्र र मोफसलको सशक्त प्रतिनिधित्वका रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । वर्तमान आर्थिक शिथिलताका बीच व्यवसायीहरूको खस्किएको मनोबल उच्च बनाउन नीतिगत स्पष्टता र लगानीको सुरक्षाका लागि सरकारसँग ठोस संवाद गर्ने उनको मुख्य एजेन्डा रहेको छ ।
व्यवसायी सापकोटाले भनेः अहिले निजी क्षेत्र चौतर्फी दबाबमा छ । यस्तो बेला महासंघ व्यवसायीहरूको स्पष्ट र बुलन्द आवाज बन्नुपर्छ । म व्यवसायीका वास्तविक मुद्दाहरू-सहज व्यावसायिक वातावरण र लगानीमैत्री नीति—का लागि खरो रूपमा उत्रिनेछु । उनले कोभिडपछिको पर्यटन क्षेत्रलाई थप उर्जा प्रदान गर्न र साना तथा मझौला उद्यमीहरूको हित संरक्षणका लागि विशेष नीतिगत पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सापकोटा आबद्ध ज्योत्स्ना श्रेष्ठको समूहमा देशबन्धु बस्नेत, अविनाश बोहोरा, शोभा ज्ञवाली, सन्दीप अग्रवाल, र डा। रामशरण थपलिया लगायत एशोसिएटतर्फ चुनावी प्रतिस्पर्धामा रहेका छन् । यो समूहले मुख्यगरी व्यवसायिक हकहित र महासंघको सुदृढीकरणलाई आफ्नो मुख्य नारा बनाएको छ ।
आज बिहान ८ बजेदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको मतदान साँझ ४ बजेसम्म चल्नेछ । सापकोटा जस्ता प्रभावशाली लगानीकर्ताको चुनावी मैदानमा प्रवेशले एशोसिएटतर्फको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस