काठमाडौं । शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको पश्चिम बंगालको मध्यमग्राम क्षेत्रमा गोली हानी हत्या गरिएको छ । मंगलबार राति मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनी सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका रथलाई अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनामा चालक बुद्धदेव बेरा पनि घाइते भएका छन् ।
लामो समय ममता बनर्जी निकट मानिएका अधिकारी हालै भाजपा प्रवेश गरेका थिए । पछिल्लो विधानसभा निर्वाचनमा भाजपाले दुई तिहाइ बहुमतसहित सरकार बनाउने तयारी गरिरहेकै बेला यो घटना भएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार चार मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरेको बताइएको छ । घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस