चितवन । चितवनको खेलकुद क्षेत्रलाई नयाँ उचाइ दिने उद्देश्यसहित बहुप्रतिक्षित “रत्ननगर नेशनल कप २०८३” भोलिदेखि रत्ननगर–८ स्थित बाघमारा खेल मैदानमा भव्य रूपमा सुरु हुँदैछ। वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुने यस राष्ट्रिय फुटबल प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका उत्कृष्ट क्लबहरूको सहभागिता रहनेछ। खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
युवा तथा खेलकुद विकास समिति, रत्ननगर–७ को आयोजनामा हुन लागेको यस प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै राष्ट्रिय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा काठमाडौं, मकवानपुर, उदयपुर, रुपन्देही, नवलपुर लगायतका जिल्लाका चर्चित क्लबहरूको सहभागिताले खेललाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउनेछ।
प्रतियोगिताको सफल आयोजनाका लागि विभिन्न संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूको सहयोग रहेको छ। कार्यक्रम व्यवस्थापन, प्रचार–प्रसार तथा समग्र समन्वयमा AB Events Nepal ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। युवापुस्तामाझ खेलकुदलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित सक्रिय AB Events Nepal ले यसअघि पनि विभिन्न सफल कार्यक्रमहरूको व्यवस्थापन गरिसकेको छ।
AB Events Nepal का निर्देशक अंकित गौतमले यस प्रतियोगिताले रत्ननगरको खेल पर्यटन प्रवर्द्धनसँगै युवाहरूमा खेलप्रतिको आकर्षण थप बढाउने विश्वास व्यक्त गरेका छन्। उनले खेलकुदले समाजमा एकता, अनुशासन र अवसर सिर्जना गर्ने माध्यम भएकाले यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना हुनुपर्ने बताए।
स्थानीय खेलप्रेमीहरूमा प्रतियोगिताप्रति ठूलो उत्साह देखिएको छ। आयोजकले सम्पूर्ण दर्शक, खेलप्रेमी तथा स्थानीयवासीलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ। रत्ननगरमा फुटबलको रोमाञ्चक माहोल केही दिन अझै जारी रहने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस