logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • गगन थापाको प्रश्न : माओवादीले फेरि कांग्रेसलाई धोका दिँदैन भन्ने ग्यारेन्टी छ ? ( भिडियोसहित)

    गगन थापाको प्रश्न : माओवादीले फेरि कांग्रेसलाई धोका दिँदैन भन्ने ग्यारेन्टी छ ? ( भिडियोसहित)

    3.1K
    Shares

    काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले माओवादीले फेरि धोका दिन सक्ने बताएका छन्।  

    अघिल्लो चुनावमा कांग्रेसलाई  धोका दिएको माओवादीले यसपाली पनि कांग्रेसलाई छोडेर एमालेसँग फेरि मिल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्छ उनले प्रश्न गरे ।  

    बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले  आगामी चुनावमा नेपाली कांग्रेसले आफ्नो तागतमा एक्लै चुनाव लडेर जित्ने हैसियत बनाउनुपर्ने बताए ।

    सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेतासमेत रहेका  थापाले  काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने  बताउँदै  सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताए । 

    केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पारे। 

    ‘कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैैन। एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन। केपी ओलीले यो गरेन्न, त्यो गरेन्न भनेर भन्ने दिन अब गए। अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो’, उनले भने, ‘त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ। संविधान र व्यवस्था माथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्छ।’ 

    नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दबाब समेत दिएका छन्। 

    ‘पाटीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन। हाम्रो संविधानले ५ वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ’, नेता थापाले भने, ‘संविधानको सो व्यवस्था अनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन। संविधानले किटान गरेको व्यवस्था कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन।’ 

    नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पारे। पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उनले आपत्ति जनाए।

    हेर्नुहोस् थापाले गरेको सम्बोधनको भिडियो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend