बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने राजकीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा ट्रम्प बेइजिङ पुगेका हुन् ।
दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो । उनलाई विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका थिए । स्वागत समारोहमा चिनियाँ बालबालिकाले झण्डा हल्लाउँदै स्वागत छ भन्दै नारा लगाएका थिए ।
यस भ्रमणलाई विश्वभर निकै चासोका साथ हेरिएको छ । ट्रम्पले भ्रमणको मुख्य केन्द्र व्यापार नै रहने र अमेरिकी कम्पनीहरूका लागि चिनियाँ बजार खुला गर्न राष्ट्रपति सीसँग आग्रह गर्ने बताएका छन् । यस्तै हाल जारी इरान युद्ध र विशेष गरी स्ट्रेट अफ हर्मूजको अवरोधका कारण उत्पन्न विश्वव्यापी आर्थिक संकटबारे दुई नेताबीच गम्भीर विचार–विमर्श हुने जनाईएको छ ।
राष्ट्रपति ट्रम्पसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र प्रसिद्ध व्यवसायीहरू एलन मस्क तथा जेन्सेन हुआङ पनि बेइजिङ पुगेका छन् । रक्षामन्त्री हेगसेथको उपस्थितिलाई दुई देशबीचको सैन्य सञ्चार सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।
बिहीबार ट्रम्प र सीबीच ग्रेट हल अफ द पिपलमा औपचारिक द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि ट्रम्पले ऐतिहासिक टेम्पल अफ हेभनको भ्रमण गर्ने र साँझ चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोज (स्टेट ब्यांक्वेट) मा सहभागी हुने कार्यक्रम छ ।
सन् २०१७ पछि भएको ट्रम्पको यो चीन भ्रमणले विश्व भूराजनीति र आर्थिक अनिश्चितताको बीचमा नयाँ मोड ल्याउन सक्ने विज्ञहरूको विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस