काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा आज नेपालले शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो निकै नै महत्त्वपूर्ण खेल आज (शुक्रबार) बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
नेपाल आजको खेलमा अमेरिकालाई हराएर घरेलु शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ भने अघिल्लो खेलमा नमिठो हार बहोरेको अमेरिका नेपालसँग घरेलु मैदानमै बदला लिने दाउमा छ।
समान २७ खेल खेले पनि अङ्क तालिकामा दुवै टोलीको अवस्था निकै फरक छ। अमेरिका २७ खेलमध्ये १९ मा जित निकाल्दै ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा विराजमान छ। उता समान खेल खेलेको नेपालले भने मात्र १० जित र १५ हारको सामना गर्दै २२ अङ्कका साथ पाँचौँ स्थानमा सीमित छ।
विश्वकप छनोटको ढोका खोल्न र आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न नेपालका लागि अब बाँकी रहेका सबै खेलहरू जित्नैपर्ने दबाब छ। अर्कातर्फ, अमेरिका शीर्ष स्थानमै टिकेर उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रनेछ।
यसअघि त्रिवि मैदानमै भएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको थियो। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर १९९ रन बनाउँदै सहजै पूरा गरेको थियो । उक्त ऐतिहासिक जितका कारण आजको खेलमा पनि नेपाली टोलीको मनोबल उच्च रहने अनुमान गरिएको छ।
घरेलु मैदानमा जारी यस त्रिकोणात्मक शृङ्खलाका तीन खेलमध्ये नेपालले २ खेलमा जित र १ खेलमा हार बहोरेको छ। स्कटल्यान्डसँगको पहिलो रोमान्चक खेलमा २ रनले पराजित भएको नेपालले दोस्रो खेलमा भने स्कटल्यान्डलाई नै ६ विकेटले स्तब्ध पारेको थियो ।
प्रतिक्रिया दिनुहोस