काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष रोपाईका लागि मलको अभाव नहुने दावी गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले बिभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने भन्दै यस वर्ष मलको अभाव नहुने दावी गरेकी हुन् ।
उनले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र जसमध्ये चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराइन् । हाल गोदाम र नेपालमा आयात हुँदै गरेको मलसहित एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको उनले बताइन् ।
मन्त्री चौधरीले चालु आर्थिक वर्षको असारसम्म लागत साझेदारीका आधारमा कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने उल्लेख गरिन् । मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै उनले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको जानकारी दिइन् । उनले प्रयाप्त रुपमा मलको आपूर्तिका लागि सम्झौता भएका कम्पनीहरुसंग ताकेता गरिरहेको बताइन् ।
त्यस्तै मन्त्री चौधरीले आगामी आर्थिक बर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य रहेको बताइन् । नेपाल काठमा पूर्ण आत्मनिर्भर हुने भन्दै नेपाली बजारको माग पुरा गरेर मात्रै काठ निर्यात गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस