काठमाडौं । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सङ्घीय राजधानी काठमाडौँमा घोंघी सांस्कृतिक साँझ २०८३ आयोजना हुने भएको छ। घोंघी स्टेशन प्रा. लि. को आयोजनामा हुन लागेको यो विशेष सांस्कृतिक उत्सव यही जेठ १५ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुन लागेको हो ।
आयोजक घोंघी स्टेशन प्रा। लि। ले एक प्रेस विज्ञप्ति जारी गर्दै थारु समुदायको रैथाने कला, संस्कृति, भेषभूषा र सङ्गीतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको खाका तयार गरिएको जनाएको छ। ओझेलमा पर्दै गएका थारु लोकसंस्कृतिलाई सहरीया परिवेश र युवा पुस्तामाझ चिनाउन यो कार्यक्रम कोशेढुङ्गा साबित हुने आयोजकको विश्वास छ ।
सांस्कृतिक साँझमा थारु साङ्गीतिक क्षेत्रका स्थापित एवं उदीयमान नक्षत्रहरूको बेजोड प्रस्तुति रहनेछ। थारु वृत्तका चर्चित गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी र गायिका सोनु कुस्मीले आफ्ना चर्चित साङ्गीतिक एवं डान्सिङ नम्बरहरू मार्फत दर्शकलाई झुमाउनेछन् ।
त्यसैगरी, प्रख्यात गायक एवं सङ्गीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चौधरीले आफ्ना सुमधुर र लोकप्रिय सिर्जनाहरू पस्कने विज्ञप्तिमा उल्लेख छ ।
गायनका अलावा कार्यक्रमको मुख्य आकर्षणको रूपमा रंगीन थारु पहिरनमा थारु सिने जगतका चर्चित मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई र डान्सर सुमिना चौधरीको धमाकेदार नृत्य रहनेछ ।
जेठ १५ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस म्याराथन सांस्कृतिक कार्यक्रमले उपत्यकामा रहेका थारु समुदायलाई एउटै मञ्चमा जोड्ने र नेपाली कला–संस्कृति प्रेमीहरूका लागि रैथाने थारु संस्कृतिको जीवन्त स्वाद पस्कने एक महत्त्वपूर्ण उत्सव बन्ने आयोजक समितिले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस