२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उदयपुरको हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै

शुक्रवार , जेठ १५, २०८३

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ । 

केही वर्षअघि नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्गानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गरेका हुन् । 

गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजीभन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताए । विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगासम्म पुर्याउने योजना पनि उनले बनाएका छन् । 

खरबुजा खेतीसँगै बेमौसमी तरकारी उत्पादनको तयारीसमेत भइरहेको छ । कृषिलाई दीर्घकालीन आम्दानी र रोजगारीको आधार बनाउने लक्ष्यसहित अघि बढेको यस योजनाले आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले अर्गानिक तथा नमुना खेतीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन् । बलौटे तथा दोमट माटो खरबुजा खेतीका लागि उपयुक्त मानिने भएकाले उदयपुरको त्रियुगा नदी आसपासका क्षेत्रमा यसको ठूलो सम्भावना रहेको कृषकहरू बताउँछन् । 

कृषिमा सम्भावना खोज्दै युवाहरू गाउँमै स्वरोजगार बन्ने अवसर प्रप्त हुन थालेपछि उदयपुरमा व्यावसायिक खरबुजा खेतीप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ