काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
सिंगापुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो । ३१४ रनको लक्ष्य पछ्याएको चीन १९ ओभर २ बलमा ९२ रनमै अलआउट भयो ।
नेपालका ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए । उनले १६ छक्का र ५ चौका प्रहार गरे ।
कप्तान रोहित पौडेलले २१ बलमा ६९ रनको आक्रामक इनिङ्स खेले भने कुशल मल्लले ४७ बलमा ८५ रन जोडे । आशिफ शेख ११ रनमा आउट भए ।
जवाफमा चीनका शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् ।
नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट हात पारे । नन्दन यादवले १ विकेट लिए ।
नेपालले ब्याटिङ र बलिङ दुवैमा दबदबा कायम गर्दै प्रतियोगितामा सशक्त सुरुआत गरेको छ ।
प्रतिक्रिया दिनुहोस