२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

झलनाथले भनेः प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रविरोधी, प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन

सोमवार , जेठ १८, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई राष्ट्रविरोधी र खतरनाक टिप्पणीको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्री शाहको अभिव्यक्ति अत्यन्त गम्भीर, दुःखद र गलत भएको बताएका हुन् । उनले नेपाली जनता लामो समयदेखि विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै त्यस्ता संघर्षलाई कमजोर बनाउने किसिमका अभिव्यक्ति स्वीकार्य नहुने बताएका छन् ।

खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्नसमेत उठाएका छन् । उनले देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु दुःखद भएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री शाहको भनाइले देशभित्र तथा विदेशमा रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामाथि चोट पुगेको खनालको दाबी छ । उनले राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न नसुहाउनेसमेत बताएका छन् ।

यस विषयमा प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै खनालले माफी नमागेसम्म देशभक्त नागरिक र राजनीतिक शक्तिहरूलाई विरोध तथा भर्त्सना जारी राख्न आग्रह गरेका छन् । साथै उनले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट तत्काल हटाउन सभामुखसमक्ष आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको हुन सक्ने भन्दै दुवै देशले संयुक्त रूपमा अध्ययन गरी समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए । उनले सीमा सम्बन्धी विषयलाई मित्रवत् ढंगले संवादमार्फत समाधान गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ