२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘राष्ट्र निर्माणमा दलित समुदायको योगदान प्रशंसनीय छ’ : विद्यादेवी भण्डारी

सोमवार , जेठ १८, २०८३

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित समुदायले नेपालको एकीकरण अभियानदेखि राष्ट्र निर्माणका विभिन्न कालखण्डमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताएकी छन् ।

आज काठमाडौँमा आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनमा उनले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहलाई सल्लाह दिने बिसे नगर्चीको योगदानको चर्चा गरिन् ।

उनले दलित समुदायको दूरदर्शिता, समर्पण भावले राष्ट्रप्रति योगदान पुर्‍याउँदै आएका प्रस्ट पारिन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “नेपालको इतिहासमा सार्वजनिक सूचना प्रवाहको जग बसाल्ने कार्यमा समेत यो समुदायले सिर्जनशील योगदान पुर्‍याएको छ, यो अतुलनीय छ ।”

उनका अनुसार कटुवाल प्रथादेखि सारङ्गीको धुन र गीतका माध्यबाट गाउँ बस्तीमा सूचना तथा सन्देश फैल्याउने कामको नेतृत्व यही समुदायले गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले सञ्चार क्षेत्रमा यति ठूलो योगदान पुर्‍याएको दलित समुदाय पत्रकारिताको क्षेत्रमा मुस्किलले पाँच प्रतिशत मात्रै हुनु चिन्ताजनक विषय रहेको बताइन् ।

उनले सञ्चारमाध्यमलाइृ समाजको स्वरुप जस्तै पूर्णरूपमा समावेशी बनाउन आग्रह गरिन् । लामो राजनीतिक सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान शताब्दियौँदेखि उत्पीडनमा पारिएका दलित, महिला, सीमान्तकृत समुदायको आत्मसम्मान अधिकारको सशक्त आधारका रूपमा रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

समाजमा न्याय, समानता र मानवीय गरिमा स्थापित गर्ने यो अभियानमा आफ्नो सधैँ ऐक्यबद्धता रहने उनले प्रस्ट पारिन् । समाजको रुपान्तरणमा पत्रकारिता शक्तिशाली हतियारका रूपमा रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले सरकारले दलित पत्रकारको क्षमता अभिवृद्धि, खोज पत्रकारितामा प्रोत्साहन, भौतिक तथा मानसिक सुरक्षाको सुनिश्चत गर्न विशेष कार्यक्रम ल्याउन जरुरी रहेकामा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ