दैलेख । दैलेखको भैरवी गाउँपालिका–७ कालगौडामा आइतबार दिउँसो भएको बोलेरो दुर्घटनामा ८ जना घाइते भएका छन् ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो अचानक अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटना दिउँसो करिब १२ः५५ बजे भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जीपको ब्रेक फेल भएपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । जीपमा सवार ७ पुरुष र १ महिला गरी ८ जना घाइते भएका छन् । उनीहरूको नाम, ठेगाना र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
घाइतेमध्ये ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ भने अन्य ३ जनाको उद्धार तथा उपचार व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेर उद्धारमा खटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस