काठमाडौं । शिक्षा मन्त्रालयले देशभरका विद्यालयमा सार्वजनिक बिदासम्बन्धी एकरूपता कायम गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव कृष्णानन्द पोखरेलद्वारा हस्ताक्षरित पत्रमा नेपाल सरकारको निर्णयअनुसार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था विद्यालयहरूमा पनि लागू गर्न आवश्यक रहेको उल्लेख गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पठाइएको पत्रमा सार्वजनिक विद्यालयमा बिदा व्यवस्थामा एकरूपता कायम गर्न समन्वय तथा सहजीकरण गरिदिन आग्रह गरिएको छ।
पत्रमा नेपाल सरकारको निर्णयअनुसार लागू भएको दुईदिने सार्वजनिक बिदा शैक्षिक संस्थामा समेत प्रभावकारी रूपमा कार्यान्वयन गराउन स्थानीय तहहरूले आवश्यक पहल गर्नुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयको यो निर्देशनसँगै देशभरका सामुदायिक विद्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्थालाई थप व्यवस्थित बनाइने भएको छ।
प्रतिक्रिया दिनुहोस