काठमाडौं /नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक धारणा माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको भनाइप्रति रास्वपाले आफ्नो दृष्टिकोण स्पष्ट गर्नुपर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र सीमा जस्तो संवेदनशील विषयसँग जोडिएको भन्दै नेकपाले यसबारे संसदमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको हो।
‘प्रधानमन्त्री बालेन्द्र शाहज्यूले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिनुभएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो ? यो सम्मानित सदनमार्फत आम नेपाली जनतालाई रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ,’ दुलालले भने। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने मागसमेत दोहर् याए।
‘हामीले हिजो पनि आग्रह गरेका थियौं, प्रधानमन्त्रीज्यूको उक्त भनाइ संसदको रेकर्डबाट हटाइनुपर्छ,’ उनले भने। दुलालले सीमा सम्बन्धी विषय राष्ट्रिय संवेदनशीलता र सार्वभौमिकतासँग जोडिएको गम्भीर मुद्दा भएकाले यसबारे उच्चस्तरीय राजनीतिक छलफल आवश्यक रहेको बताए। उनले सभामुखलाई आवश्यक पहल गर्न तथा प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिन रुलिङ गर्न आग्रह गरे।
प्रधानमन्त्रीको भनाइप्रति प्रतिपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् भने सरकारले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै त्यसलाई गलत ढंगले व्याख्या गरिएको दाबी गरेको छ। यसैबीच नेकपाले सत्तारुढ दल रास्वपालाई आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न दबाब दिएको छ।
प्रतिक्रिया दिनुहोस