logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एन्फामा राजीनामा लहर

    एन्फामा राजीनामा लहर

    4.2K
    Shares

    काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा अहिले पदाधिकारीको राजीनामा लहर चलेको छ ।

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेपछि एन्फा पदाधिकारीबीच आपसी कलहसँगै राजीनामा दिने लहर पनि चलेको हो । सोमबार एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।

    उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएका हुन् । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङमाथि आरोप लगाउँदै प्रशिक्षक अब्दुल्लाहको समाजिक सञ्जालमा आएको राजीनामा प्रकरणबाट प्रवक्ता राई असन्तुष्ट थिए । राईले उपाध्यक्ष नेम्वाङको साथमा राजीनामा बुझाएका छन् । गत आइतबार अब्दुल्लाहले आफूले राजीनामा दिनुको कारण वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भएको समाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

    यही विषयमा गत शुक्रबार एन्फाले छानविनका लागि आपत्कालीन बैठकसमेत बोलाएको थियो । तर, उक्त बैठकले घटनाको सत्य तथ्य छानबिन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । एन्फामा छानविन गर्नका लागि उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह दुवैले निवेदन दिएका थिए ।

    यसैगरी आपत्कालीन बैठकमा एन्फाका मनोनित पदाधिकारीलाई नबोलाएको भन्दै आइतबारमात्र एन्फामा सहायक महासचिव बसन्तराज अर्यालले राजीनामा दिएका थिए ।

    यसैगरी बिहीबारमात्र एन्फाकै मनोनित उपाध्यक्ष शिक्षित पराजुलीले पनि मनोनित पदाधिकारीलाई बैठकमा नबोलाएको भन्दै अबबाट कुनै पनि बैठकमा उपस्थित नहुने बताएका थिए । सधैँ विवादको भूमरीमा फस्दै आएको एन्फामा अहिले पनि दुई समूह छन् ।

    अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पंकजबीच चर्को विवाद छ । आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर अहिले पदाधिकारीबीच एकले अर्कोलाई खुइल्याउने क्रम सुरु भएको छ । राजनीतिक दाउपेचका लागि सक्दो फण्डा रच्न पदाधिकारी लागेपरेका छन् ।

    प्रशिक्षक अब्दुलाहको राजीनामा प्रकरणलाई पनि राजनितिक दाउपेचका रुपमा हेरिएको छ । केही दिनअघि मात्र एन्फा एकेडेमी हेर्दै आएका सदस्य दिनेश ब्याञ्जनकारलगायत समूहले राजीनामा दिएका थिए ।

    एन्फामा कर्माछिरिङ समुहको हालीमुहाली भएको भन्दै एन्फाका अर्का उपाध्यक्ष कृष्ण थापाले पनि हालै मात्र एन्फा प्राविधिक कमिटिको संयोजकबाट राजीनामा दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend