काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) भित्रको संस्थागत सुदृढीकरण, नेतृत्व प्रणालीमा सुधार तथा ऊर्जा क्षेत्रको विकासका विषयमा छलफल गर्न ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक विशेष सभा भोलि (जेठ २० गते) बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेस मा आयोजना हुने भएको छ।
इप्पानको विधान संशोधनलाई मुख्य एजेन्डा बनाइएको उक्त सभामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा सरोकारवालाहरूलाई सहभागी गराइने आयोजकले जनाएको छ। संस्थाभित्र देखिएका विभिन्न समस्या, व्यवस्थापकीय चुनौती तथा सुधारका आवश्यकताबारे छलफल गर्दै विधान संशोधनमार्फत संस्थालाई थप प्रभावकारी, पारदर्शी र एकताबद्ध बनाउने उद्देश्य राखिएको बताइएको छ।
आयोजकका अनुसार हालको विधानमा रहेको व्यवस्था अनुसार इप्पानको अध्यक्ष बन्न सदस्यले कार्यसमितिमा प्रवेश गरेपछि पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुगेर करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने प्रावधान रहेको छ। उक्त व्यवस्थाले नेतृत्वमा सीमित समूहको प्रभाव कायम रहने र नयाँ पुस्ताका व्यवसायी तथा सदस्यहरूको अवसर संकुचित हुने भन्दै दुईतिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको बताइएको छ।
कार्यक्रमको आयोजना विधान संशोधनपछिको नेतृत्व निर्माणको पक्षमा रहेका टोलीले गरेको हो। यस अभियानमा बलराम खतिवडा, भरत खत्री, प्रकाशचन्द्र दुलाल, मिथुन पौडेल, भरत नेपाल, कुमार खरेल, सञ्जीव न्यौपाने, राजेन्द्र बिली, गोपाल न्यौरे, पुष्कर ढंगेल, भानु पोखरेल, भुषण गुरागाईं, सन्तोष नेपाल, मोहन कार्की, सालिक बेल्बासे, हिमाल गुरुङलगायत दुई दर्जनभन्दा बढी वरिष्ठ जलविद्युत् व्यवसायीहरूले गरिरहेको जनाइएको छ।
ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप संगठित, लोकतान्त्रिक र एकताबद्ध बनाउने तथा निजी क्षेत्रको भूमिका सुदृढ गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा ऊर्जा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सदस्य, व्यवसायी तथा सरोकारवालाहरूलाई सहभागी भई आफ्नो धारणा राख्न आयोजकले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस