२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राप्रपा विवादमा ज्ञानेन्द्र शाहीको आक्रोशः ‘जुँगाको लडाइँ देखेर युवा वाक्क भइसके’

बुधवार , जेठ २०, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीभित्र चुलिएको आन्तरिक विवादप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेता धवलशमशेर राणालाई लक्षित गर्दै नेतृत्व तहको शक्ति संघर्षले कार्यकर्ता र युवापुस्तामा निराशा बढाएको बताएका छन् ।

“तिमीहरूको डीएनएमै मिलेर जाने भन्ने रहेनछ । तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं । कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन् । अलिकति पनि लाज लाग्दैन ?” शाहीले लेखेका छन् । 

उनले अहिलेको आवश्यकता एकता र सहकार्य भएको उल्लेख गर्दै नेताहरूको पद मोहप्रति प्रश्न उठाएका छन् । “एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्न मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनुपर्ने । पदका लागि यति धेरै हानाथाप र अहंकार किन ?” उनले भनेका छन् ।

शाहीले नेताहरूको व्यवहारले संगठन कमजोर बन्नुका साथै कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा समेत खस्किरहेको दाबी गरेका छन् । नेतृत्व भनेको पदमा टाँसिएर बस्ने नभई आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता भएको उनको भनाइ छ ।

उनले विवाद समाधानका लागि सार्वजनिक आरोप–प्रत्यारोपको सट्टा आपसी संवादमा जोड दिएका छन् । “यदि तिमीहरूको हिम्मत र दम छ भने, ल म बस्छु, हामी तीनजना सँगै बसौँ, छलफल गरौँ । यो नाटक किन गरिरहेका छौ ?” उनले लेखेका छन् ।

राप्रपाभित्र नेतृत्व र संगठनात्मक विषयलाई लिएर पछिल्लो समय देखिएको मतभेदका बीच शाहीको अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टि थप उजागर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ