२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपाल टेलिकमका लागि अर्बौंको सामग्री खरिद प्रक्रियामा अनियमितताको आरोप, अख्तियारमा उजुरी

मंगलवार , जेठ २६, २०८३

काठमाडौं — नेपाल टेलिकममा अर्बौं रुपैयाँ बराबरका विभिन्न खरिद प्रक्रियामा अनियमितता, मिलेमतो र कमिसन कारोबार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

अख्तियारमा परेको उजुरीमा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र कर्मचारी सञ्जीव देवमाथि ब्यान्डविथ, सिग्नलिङ, बिलिङ, टावर, स्विच तथा क्लाउड सेवासम्बन्धी अर्बौं रुपैयाँ लागतका परियोजनामा निश्चित कम्पनीलाई लाभ पुग्ने गरी प्राविधिक मापदण्ड (स्पेसिफिकेसन) तयार गराएको आरोप लगाइएको छ।

उजुरीअनुसार डंगोलको कार्यकाल सकिन करिब दुई महिना मात्र बाँकी रहेका बेला दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरूमा प्रतिस्पर्धा सीमित हुने गरी ‘भेन्डर लक’ र ‘स्पेसिफिकेसन लक’ सिर्जना गरिएको दाबी गरिएको छ। यसमार्फत करोडौं रुपैयाँ कमिसन असुल्ने योजना बनाइएको आरोप पनि उजुरीमा उल्लेख छ।

त्यस्तै, सञ्जीव देवलाई खरिद शाखामा ल्याएर विभिन्न व्यवसायी तथा कम्पनीका एजेन्टहरूसँग नियमित सम्पर्क राख्ने, होटल तथा रेस्टुरेन्टमा भेटघाट गर्ने र खरिद प्रक्रियासम्बन्धी कमिसनका विषयमा छलफल गर्ने गरेको आरोप समेत लगाइएको छ।

उजुरीमा डंगोलले निमित्त प्रबन्ध निर्देशक बन्न तत्कालीन प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई करोडौं रुपैयाँ बुझाउने सहमतिमा वरिष्ठता मिचेर नियुक्ति प्राप्त गरेको दाबी पनि गरिएको छ। सोही प्रभावका आधारमा विभिन्न खरिद प्रक्रियामा हस्तक्षेप गर्दै टेन्डर आह्वान हुनुअघि नै निश्चित कम्पनीलाई लाभ पुग्ने गरी मापदण्ड तय गर्ने प्रयास भएको आरोप लगाइएको छ।

रीना डंगोल र सञ्जीव देवबीच मिलेमतो रहेको दाबी गर्दै उजुरीमा सञ्जीव देवले सिफारिस गरेका फाइलहरू मात्र स्वीकृत गर्ने तथा उनले समन्वय गरेका व्यवसायी र कम्पनीका प्रतिनिधिलाई प्राथमिकता दिने गरिएको उल्लेख गरिएको छ।

उजुरीमा स्पेसिफिकेसन समीक्षा समितिमा पेश गरिएका प्रस्तावहरू कुनै संशोधनबिनै पारित गराउन दबाब दिने, वरिष्ठ अधिकारीहरूलाई प्रभावमा पार्ने तथा कर्मचारीहरूलाई धम्की दिने कार्य भएको दाबी पनि गरिएको छ। यसका कारण संस्थाभित्र त्रासपूर्ण वातावरण सिर्जना भएको उजुरीकर्ताहरूको भनाइ छ।

उजुरीकर्ताहरूले रीना डंगोल र सञ्जीव देवको सम्पत्तिमाथि छानबिन गर्न, विगतदेखि भएका भनिएका अनियमित गतिविधिहरूको अनुसन्धान गर्न तथा हाल सञ्चालनमा रहेका खरिद प्रक्रियामा भइरहेको भनिएको गैरकानुनी गतिविधि तत्काल रोक्न अख्तियारसँग माग गरेका छन्।

54daf6a2-cf8d-44c6-af8c-375cc4008e79.jpg
undefined

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट