logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • हात्ती लखेट्न जाडोमा रातभर जाग्राम

    हात्ती लखेट्न जाडोमा रातभर जाग्राम

    3.1K
    Shares

    सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूह निस्केर गाउँ पस्न थालेपछि कोसी क्षेत्रका सर्वसाधारण पुसको चिसोमा जाग्राम बस्न बाध्य भएका छन् ।  वर्षौंदेखि भौतिकसँगै मानवीय क्षति गर्दै आएको मकुना हात्तीको मृत्युपश्चात् हात्ती आतङ्क रोकिने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेको छैन ।

    जाडो सुरु भएसँगै मध्यरातमा गाउँ पसेर हात्तीले घर भत्काउने र भण्डारण गरी राखिएको अन्नपात खाएर नष्ट गर्ने क्रम पुनः सुरु गरेकाे कोसी गाउँपालिका–८ भण्टाबारीस्थित रेल्वे टोलका बिन्दा सरदारले बताए । मकुना हात्तीको मृत्युपछि हात्ती आतङ्क रोकिने  अपेक्षा गरिएकाे भए पनि त्यस्तो हुन नसकेको बताउँदै कोसीटप्पुबाट निस्केर आउने हात्तीको समूहले पुनः दुःख दिन थालेको उनकाे भनाइ छ ।

    पछिल्ला केही दिनमा आरक्षबाट निस्केर आएको हात्तीको समूहले भण्टाबारीका स्थानीय बिन्दा सरदार, हलेसर सरदार, शिवु सरदारलगायतका गरी एकदर्जन घरमा क्षति पुर्याएको छ । हात्तीको समूहले घर तोडफोड गर्दै भण्डारण गरेर राखिएको पाँच क्विन्टल चामल, दुई क्विन्टल गहुँ खाएर नष्ट गरेको बिन्दा सरदारले जानकारी दिए ।

    जिल्लाको दक्षिणवर्ती क्षेत्र अन्तर्गत पर्ने कोसी गाउँपालिका दलित, निम्नवर्गीय र पिछडिएको समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यस भेगमा बसोबास गर्नेमध्ये ६० देखि ७५ प्रतिशत सर्वसाधारणको जीविका जनमजदुरीमा निर्भर छ । नियमित काम गर्दा जीविका चलाउन उनीहरूलाई समस्या नभए पनि काम नपाउँदा भने हम्मेहम्मे पर्दछ । कोसी  गाउँपालिका–८ स्थित भण्टाबारीका हलेसर सरदारले अर्काको खेतमा मजदुरी गर्दै १० मन धान भित्र्याएका थिए । जाडोयाममा केही काम नगरेपनि यसपटक परिवारको गुजारा चल्नेमा उनी विश्वस्त थिए ।

    तर, आरक्ष क्षेत्रबाट रातको समयमा निस्केर आएको जङ्गली हात्तीले घरमा भण्डारण गरी राखिएको धान, चामल र गहुँ खाई नष्ट गरिदिनका साथै फुसको घर हात्तीले भत्काइदिँदा खान मात्रै होइन, बस्नसमेत समस्या भएको सरदारले गुनासो गरे । दिनभर आरक्षभित्र बस्ने हात्ती राति मानव बस्तीमा पसेर आतङ्क मच्चाउने गरेका छन् ।

    ‘जाडोमा काम पाइन्न, पाइहाले पनि गर्ने हिम्मत हुँदैन, दिनदिनै जाडो बढेको छ’ अर्का हात्ती पीडित शिवु सरदारले भने, ‘यस्तो अवस्थामा हामी गरिब कसरी बाँच्ने रु’ उनले हात्ती कतिखेर गाउँ आइपुग्ला भनेर कुर्नु पर्ने भएकाले जाडोमा गरिबलाई ढुक्क साथ बस्ने अवस्था नरहेको बताए । आरक्षबाट निस्केर आउने हात्तीको समूहले किसानले लगाएका मकै, केरा, गहुँ खेती नष्ट गर्नुका साथै घरमा भण्डारण गरी राखिएका धान, चामल, गहुँ खाँदै नष्ट गर्दै कोसी गाउँपालिका क्षेत्रका सर्वसाधारणलाई आतङ्कित बनाउँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend