logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • माओवादी प्रदेश १ मा नौ जना पदाधिकारीका लागि ४० बढीको दाबी

    माओवादी प्रदेश १ मा नौ जना पदाधिकारीका लागि ४० बढीको दाबी

    4.4K
    Shares

    विराटनगर । प्रदेश १ नेकपा माअ‍ोवादी केन्द्रको नौ पदाधिकारीका लागि ४० जना बढीको दाबी देखिएको छ । पार्टी कार्यालय विराटनगरमा मङ्गलबार प्रदेश १ मा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्यहरुको बैठकपछि बसेको आकांक्षीहरुसँगको छलफलमा ४० बढीको उपस्थिति देखिएको हो ।

    पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षको लागि दर्जनबढी दाबी रहेको छ । यस्तै १ जना सचिवका लागि आधा दर्जनको दाबी छ । माओवादी स्रोतका अनुसार बाग्मती प्रदेशमा पदाधिकारी चयन निर्वाचनबाट गरेपछि प्रदेश १ मा पनि निर्वाचन प्रक्रियाबाटै सक्नुपर्ने आवाज चर्को रूपमा उठेको छ ।

    प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक पुस ७ गते ९बुधबार० बस्दैछ । प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित समितिको उक्त बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि अहिलेसम्म सहमतिको कुनै सम्भावना देखिएको छैन । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त समितिको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक मङ्गलबारका लागि बोलाइएको छ ।

    यसअघि आ–आफूले दाबी गर्दै फेसबुकको प्रचारमा देखिएकाहरुले पार्टीको औपचारिक फोरममा मङ्गलबारको बैठकमा राखेका छन् । अध्यक्षमा दाबी राख्नेमध्ये मोरङ विराटनगरका हेम कार्की (विशाल)ले आफ्नो उम्मेद्वारी फिर्ता लिएर सहमतिका साथ नेतृत्व चयनमा जोड दिएका थिए ।

    खोटाङका ध्रुव बुढाथोकीले भने अध्यक्षमा आफू हुनुपर्ने कारण तथा पार्टी निर्माणको कार्ययोजना प्रस्तुत गरेका थिए । सोही जिल्लाका देवान चाम्लिङ पृथ्वीले भने ध्रुब बुढाथोकी अध्यक्ष बन्दा आफू छोड्न तयार भएको बताएका थिए । अन्य उम्मेद्वार बनेको खण्डमा आफू पनि अध्यक्षको उम्मेद्वार रहेको उनको जिकिर थियो । दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्री रहेका छन् ।

    महिला उपाध्यक्षमा संखुवासभाकी इन्दीरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ ।

    सचिवमा भने मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन् ।

    माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मङ्सिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो । प्रदेशको पदाधिकारी चयन गर्न नसकेको आरोप खेप्नुपर्ने र मनोवैज्ञानिक रुपमा राष्ट्रिय सम्मेलनमा पराजित मानसिकताका साथ उपस्थिति हुँदा राम्रो सन्देश नजाने भन्दै कतिपयले ८ गतेभित्रै टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend