logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ओमिक्रोन : छिटो संक्रमण छिटो निको

    ओमिक्रोन : छिटो संक्रमण छिटो निको

    5.2K
    Shares

    केही दिन यता नेपालमा ओमिक्रोनको तिव्र संक्रमण बढीरहेको छ । एकैदिनमा दश हजार माथीका दरले नयाँ संक्रमित थपिईरहेका छन् ।  डेल्टा भेरियन्टको तुलनामा तिव्र गतिमा फैलिएको ओमिक्रोन भाईरसबाट मृत्यु हुनेको सङख्या भने कम छ । ओमिक्रोन भाईरसको बारेमा सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुन यसो भन्छन् । 

    dr.-sherbahadur-punnn.jpg

    डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ । अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिएको छ । ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै तल ओर्लिएको देखिन्छ । त्यसैले शायद नेपालमा पनि अबको केही दिनमा ओमिक्रोनको लहर ओर्लिने प्रक्षेपण गर्न सकिन्छ । यद्यपि, भाइरस कसरी अगाडी बढ्छ भनेर हेर्न भने बाकी नै छ ।

    ओमिक्रोनको सबै भन्दा फरक विशेषता भनेको नै हालसम्मको “भेरियन्ट अफ कन्सर्न“ अन्तर्गतका कोरोना भाइरसहरू भन्दा तीव्र गतिमा फैलन सक्नु मानिन्छ । विश्व स्वास्थ्य संगठनले ८९ देशहरूमा फैलिएको ओमिक्रोनको विश्लेषणबाट १ देखि ३ दिनमा सङ्क्रमणको सङ्ख्यामा दोब्बरले बढ्दै जाने तथ्य सार्वजनिक गरेको थियो ।

    हङकङ विश्वविद्यालयले गरेको प्रयोगशाला अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट डेल्टाको तुलनामा श्वास–प्रश्वास प्रणालीको माथिल्लो भागमा ७० गुणा बढी तीव्र गतिमा फैलन (सङ्ख्यात्मक वृद्धि) सक्ने देखाएको थियो । थप अरू अध्ययनहरूले पनि ओमिक्रोन तीव्र गतिमा फैलन सक्ने क्षमता विकास गरेको देखाएका छन् । विभिन्न देशहरूको तथ्यांकहरूलाई केलाएर हेर्ने हो भने पनि यो ओमिक्रोन बिजुली गतिमा उत्कर्षमा पुगेको देखिन्छ ।

    नेपालमा पनि पछिल्लो दुई लहरहरू भन्दा यो लहर छोटो समयमा तीव्र गतिमा उकालो लागिरहेको देख्न सकिन्छ । यी तथ्याङ्कहरूले पनि ओमिक्रोनले फैलावटलाई तीव्रता दिन सक्ने क्षमता सहित विकास भएको देख्न सकिन्छ ।
    ओमिक्रोनले सङ्क्रमण गरेपछि लक्षण देखिने समय पनि अघिल्लो भेरियन्टहरूको भन्दा छिटो देखिएको छ । अघिल्लो भेरियन्टहरूमा सङ्क्रमण भएपछि  औसतमा लगभग ५–६ दिनमा लक्षणहरू देखिने गरेको थियो भने ओमिक्रोनमा यो अवधि छोट्टिएर औसतमा ३ दिनमा देखिएको अमेरिका तथा युरोपका ओमिक्रोन अध्ययनहरूबाट देखिएको छ । यसै कारणले पनि होला सङ्क्रमितको सङ्ख्या लगभग एकै समय तिर एक्कासि ह्वात्तै बढेको हुनुपर्छ ।

    हाल धेरै कोरोना सङ्क्रमितहरूमा मुख्यतया घाटी दुख्ने, टाउकोको अगाडीको भाग र आँखा दुख्ने, शरीरका मांसपेशीका असाध्य दुख्ने, नाकबाट पानी बग्ने÷ बन्द हुने,थकान महसुस हुने र मन्द ज्वरो आउने जस्ता समस्याहरू देखिएका छन् । चाखलाग्दो के छ भने,अहिलेका धेरै सङ्क्रमितहरूमा लक्षणहरू सामान्यतया तीन दिन देखि एक हप्तासम्ममा उल्लेखनीय सुधार भएको पाइन्छ । डेल्टामा भने कम्तीमा दुई हप्तासम्म स्वास्थ्य अवस्था हेर्नु पर्ने हुन्थ्यो ।

    अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको अध्ययनको नतिजा अनुसार लक्षण सहित अस्पताल भर्ना भएकाहरूको बसाई डेल्टा सङ्क्रमितहरूको भन्दा झन्डै औसतमा ७० प्रतिशतले कमी हुने देखाएका थिए । समग्रमा भन्नु पर्दा, ओमिक्रोन सङ्क्रमितहरूको लक्षण तथा अस्पताल बसाइको अवधि डेल्टा भन्दा छोटो हुने गरेको प्रष्ट देखिन्छ । अर्थात् ओमिक्रोन सङ्क्रमितहरू तुलनात्मक रूपमा अघिल्लो भेरियन्टहरू भन्दा छिटो निको÷ स्वास्थ्य सुधार हुन्छ भन्ने हो ।

    ओमिक्रोन प्रभावित देशहरूमा लहरको ट्रेन्ड हेर्दा पनि छोटो देखिन्छ । दक्षिण अफ्रिका, बेलायत, फ्रान्स तथा भारतका केही प्रान्तहरूको लहरको अवस्था हेर्दा झन्डै ३–४ हप्तामा उत्कर्षमा पुगेर मत्थर हुँदै गएको देखिन्छ । 
    अर्थात् ओमिक्रोनको लहर अघिल्लो लहरहरूको भन्दा छिटो शिथिल भएको देखिन्छ । हाल नेपालमा पनि ओमिक्रोनले उत्कर्षको बाटो पहिल्याउँदै गर्दा अबको केही दिनमा शिथिल हुन् सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि त्यस्तै खाले ट्रेन्ड देखिने÷नदेखिने अवस्था हेर्न भने केही दिन धैर्य गर्नुपर्ने हुन्छ ।

    अन्तमा, हालसम्म ओमिक्रोनको हर्कतको अनुभवलाई विश्लेषण गर्दा अघिल्लो भेरियन्टहरू भन्दा छिटो फैलने, छिटो लक्षण देखिने र छिटो सुधार हुने भेरियन्टको रूपमा प्रस्तुत भएको देखिन्छ । युद्धस्तरमा हाल भैरहेको अनुसन्धानहरूले आगामी दिनहरूमा ओमिक्रोन बारे थप तथ्यहरू भने ल्याउने नै छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend