logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • ४० वर्षको शिक्षण पेशापछि मौरीपालनमा होमिए चुर्णबहादुर

    ४० वर्षको शिक्षण पेशापछि मौरीपालनमा होमिए चुर्णबहादुर

    3.4K
    Shares

    बागलुङ । केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन्। बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन ।

    जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए। विसं २०६२ तिर उनले रु तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याएका थिए । विसं २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गरे। अहिले उनकामा ४५ घार मौरी छन् । आउँदो वर्षभित्र सय घार पु¥याउने रानाको लक्ष्य छ ।

    “विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन–चार वर्षजति भयो”, रानाले भने । उनले ‘फार्म’को व्यावसायिक नाम ‘कृषि तथा दीप मौरीपालन’ दिए । रानाले गएको याममा ५२ किलो मह बेचेको सुनाए । कात्तिक–मङ्सिर र वैशाख–जेठ गरी दुई याममा मह काढ्नुहुन्छ । प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ ।

     “मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन”, रानाले भने । गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यवद्र्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ । रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए । सय घार पु¥याउँदा कमाइ दोब्बरले बढ्ने उहाँको भनाइ छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको ‘फार्म’ले रु एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो । सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताए।

    “अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु”, उनले भने, “कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ ।”

     विसं २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताए । सुरुआतमा उनका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाउथे । पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ ।

    श्रीमती मायाको उनलाई दरिलो साथ छ । अरु छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन् । कुराकानीका क्रममा रानाले आफू पाँच वर्षको छँदा भएको अप्रिय घटना पनि सम्झन पुगे । उनको अहिले बायाँ हात छैन । शारीरिक अपाङ्गतासँग पनि राना जुँधिरहेका छन्।

    घरमै खेल्ने क्रममा जाँतोमा थिचिएर हात गुमाउनुपरेको रानाले सुनाए । शारीरिक जटिलताबीच पनि शिक्षण पेशामार्फत उनले चार दशक समाजको सेवा गरे । पेशाबाट निस्कँदा पनि उनले आफ्नो आँट र साहसलाई कायमै राखे ।

    विसं २०३७ देखि २०७७ सम्म गाउँकै भगवती प्राविमा उनले अध्यापन गरे । स्थानीय स्रोतको शिक्षक हुँदै २०४१ मा अस्थायी र २०४८ मा स्थायी भएर गत वर्ष उमेरहदका कारण रानाले अनिवार्य अवकाश पाए । “अपाङ्गता भए पनि मौरीको रेखदेख, स्याहारसुसार म आफैँ गर्छु, ठूलो काम पर्दा मात्र ज्यालादारीमा कामदार लगाउने गरेको छु”, रानाले भने, “शिक्षणपछि मेरो रुचिको पेशा मौरीपालन भएको छ, यसमै रमाइरहेको छु ।”

    मौरीपालनको पकेट जैदीमा दर्जनौँ किसान त्यस पेशामा छन् । बोर नजिकै धुल्लुगाउँका मोहराज उपाध्यायको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ले चिनिन्छ । उद्योगमा २०० घार मौरी छन् । उपाध्यायले मह बेचेर वार्षिक रु १० लाख बढी कमाउछन् । कृषि ज्ञान केन्द्रका अनुसार जैदीसहित छिस्ती, धुल्लुबास्कोट, कुश्मीसेरा, भकुण्डे, पाला, रेश, मालिका, दगातुम्डाँडा, मल्म, दुदिलाभाटी, हटियालगायत मौरीपालनका लागि पकेट क्षेत्रमा पर्छन् ।

    कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन् । जिल्लामा सेरेना प्रजातिको मौरीपालन हुने गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend