logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा.रुणा झा भन्छिन्– अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो

    जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा.रुणा झा भन्छिन्– अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो

    1.4K
    Shares
    जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा.रुणा झा भन्छिन्– अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो

    काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ ।

    प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अफ्ठ्यारो भएको बताइन् । प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको बताइन् ।

    उनले अन्य देशहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रुपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको बताइन् ।

    डा. झाले कम जनशक्तिबाट अनुगमन, परीक्षण लगायतका काममा अफ्ठ्यारो भएको बताइन् । प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन् । नेपालका ३ हजार १ सय ४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ ।

    गुणस्तर नियन्त्रण केन्द्रिय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उनको बुझाइ छ । उनले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरु गर्ने स्थान बनाउनुपर्ने बताइन् ।

    डा.झाले भनिन्, ‘धेरै प्रयोगशालाहरु त अस्पताल मातहत छन् । अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ । त्यहाँका प्रयोगशालाहरुपनि सोझै हाम्रो पहुँचमा छैनन् । जसलाई वर्गिकरण चाहिएको छ, उहाँहरु चाहीँ हामीसँग आउनुहुन्छ । मापदण्ड हामीले सिमिलर (एकरुपता) बनाएपनि अस्पतालको प्रयोगशाला हाम्रो निगरानीमा पर्दैन । अस्पतालहरुको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ । स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदाखेरी त्यसको समग्रमा एकीकृत तथ्याङ्क राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौति छ । जनशक्ती अभाव छ नै । रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ । दुवै जना नवौं तहको हुनुहुन्छ । दरबन्दीको टाइप पनि मिलेको छैन । संख्यापनि मिलेको छैन । कामको भेराइटीज नै धेरै छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई । १ लाख ३२ हजार सेवाग्राहीको स्याम्पलपनि हेर्नुप¥यो । धेरै जनशक्ती यसैमा लागिरहेको छ । अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदाखेरी अलिकति अफ्ठ्यारो भएकै हो । गुणस्तर नियन्त्रण सम्मको लागि त ठिकै हो । तर, अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपथ्र्यो ।’

    प्रयोगशालामा अनुसन्धानका क्रियाकलापहरु कम भएको बताइन् । उनले कार्यालय भनेर बनाइएको संरचनामा अहिलेपनि ल्याव सञ्चालन भइरहेको बताइन् । उनले शुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी दिइन् ।

    उनले प्रयोगशालाका लागि रिसर्च लेभलका जनशक्तिहरु आवश्यक पर्ने भएपनि जनशक्ति अभावमा काम गर्न बाध्य भएको बताइन् । स्वास्थ्यको अनुगमन एकिकृत तवरबाट हुन नसकिरहेको बताउँदै डा.झाले केन्द्रीय प्रयोगशाला र प्रादेशिक प्रयोगशालाबिच समन्वय नभएको बताइन् ।

    ‘ए’ र ‘बी’ प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हेर्ने, ‘सी’ प्रयोगशालालाई प्रदेशले हेर्ने, ‘डी’ र ‘ई’लाई स्थानिय तहले हेर्ने भनेर वर्गिकरण गरिएपनि प्रभावकारी समन्वय हुन नसकेको बताइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत हाल दैनिक औषत तीन सयदेखि पाँच सय जनाको स्वास्थ्य परीक्षण हुँदै आएको छ । फरक प्रसंगमा उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगीको सेरोटाइप अध्ययन गर्न थालेको बताइन् ।

    उनले भनिन्, ‘डेंगी पोजेटीभ नेगेटिभ मात्रै नभएर कुन प्रकृति(टाइप)को डेंगी हो भनेर छुट्याउन सक्ने अवस्थामा छौं । यस वर्षको पनि डेंगी सिरोपाइपको अध्ययन गरिरहेका छौं । स्याम्पलहरु कलेक्ट गरेका छौं । यसको परीक्षण गर्ने तयारीमा छौं । डेंगीको कुन सेरोटाइप हो भनेर हेर्ने हो । विभिन्न वर्षमा एउटै सिरोटाइप नहुन सक्छ । यो वर्ष कुन सेरोटाइप आयो भनेर अध्ययन गर्दैछौं । बाहिरबाट हेर्दा सबै डेंगी हो र, त्यसको थप विश्लेषण गरेर कुन सिरोटाइप हो भनेर अध्ययन गर्न लागेका हौं । ’

    गुणस्तर, नियमन र अनुसन्धानका लागि प्रयोगशालाको स्थापना भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र जनशक्ती यथोचित नहुँदा सेवाप्रवाहमा सकस देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend