logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सर्वोत्तम सिमेन्ट ऋणमुक्त भएको छ, लगानीकर्तालाई राम्रो प्रतिफल दिने छौं (अन्तर्वार्ता)

    सर्वोत्तम सिमेन्ट ऋणमुक्त भएको छ, लगानीकर्तालाई राम्रो प्रतिफल दिने छौं (अन्तर्वार्ता)

    3.8K
    Shares
    सर्वोत्तम सिमेन्ट ऋणमुक्त भएको छ, लगानीकर्तालाई राम्रो प्रतिफल दिने छौं (अन्तर्वार्ता)

    इन्जिनियर विष्णुप्रसाद न्यौपानेले सडक विभाग र भवन निर्माण विभागमा जागिर खाएका थिए । सरकारी जागिर छाडेर तीन दशकअघि न्यौपानेले सिमेन्ट उद्योग स्थापना गरे । जगदम्बा सिमेन्ट उनको पहिलो उद्योग हो । न्यौपानेले अहिले लगानी बढाएर सौरभ ग्रुपको साम्राज्य विस्तार गरेका छन् । ग्रुपअन्र्तगत अहिले आधादर्जन बढी उद्योग छन् । ग्रुपको सर्वोत्तम सिमेन्टले भर्खरै प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ । सर्वोत्तमको आइपिओमा माग भन्दा १९ गुणा बढी आवेदन परेको छ । ग्रुपले तीन उद्योगको आइपिओ निष्कासन गर्न लागेको छ । नेपालमा व्यवसायको अवस्था र लगानीको नयाँ क्षेत्रका विषयमा केन्द्रीत रहेर ग्रुपका अध्यक्ष न्यौपानेसँग सुनौलो नेपालका लागि बाबुराम खड्काले गरेको कुराकानीको अंश :

    सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आइपिओ) मा माग गरेको भन्दा १९ गुणा बढी आवेदन पर्यो । उद्योगको आइपिओमा लगानीकर्ता झुम्मिनुको कारण के होला ?

    सर्वसाधारणले सर्वोत्तम सिमेन्टप्रति अपार विश्वास देखाएका छन् । यो हाम्रा लागि खुशीको कुरा हो । अर्को कुरा सर्वोत्तम सिमेन्ट मुलुककै सबैभन्दा ठूलो खानी भएको उद्योग हो । खानी नै सर्वोत्तमको ‘स्ट्रेन्थ’ हो । भारतमा धेरै ठूलो खानी भएको सिमेन्ट उद्योगहरुको सेयर मूल्य बढी छ । सेयर बजारमा सिमेन्ट उद्योगको अवस्थाको मापन खानी कत्रो छ भन्नेले गर्छ । सर्वोत्तम सिमेन्ट ‘लोकेसन’ को हिसावले मुलुकको सेन्टरमा छ । सिमेन्टको बजारदेखि नजिक छ भने खानीदेखि पनि उद्योग नजिक छ ।

    स्वभाविक रुपमा यसबाट उद्योगले लाभ लिँदै आएको छ । जसले गर्दा कच्चावस्तुको लागत कम हुन्छ । उद्योग काठमाडौंबाट २ सय ३० किलोमिटर दुरीमा छ । यस्तै भैरहवा, बुटबल, पोखरा, नारायणगढ र हेटौडालगायत सिमेन्ट बढी खपत हुने सहरी क्षेत्र नजिक सर्वोत्तमको कारखाना छ । ढुवानी भाडा कम हुन्छ । केन्द्रीय लोकेसनले गर्दा आगामी दिनमा उद्योगको वित्तीय अवस्था राम्रो भई सेयरधनीलाई थप लाभांश दिन सक्ने देखिन्छ ।

    अर्को महत्वपूर्ण कुरा नेपालमा ‘बुकबिल्डिङ’ विधिबाट आइपिओ निष्कासन गर्ने सर्वोत्तम पहिलो उद्योग भएकाले सेयरमा सर्वसाधारणको चासो हुनु स्वभाविक हो । संस्थागत लगानीकर्ताले लिएको भन्दा १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपिओ निष्कासन गरेका थियौं । चाटर्ड एकाउन्टेन्डलगायत सबैले उद्योगको वित्तीय विश्लेषण गरेर प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

    संस्थापकले भन्दा १० प्रतिशत सस्तोमा आएपछि उद्योगको सेयरमा सर्वसाधारणको चासो भएको देखिन्छ । सेयरको भाउ बिडिङबाट तय गरेपछि त्यसबाट पनि १० प्रतिशत कममा सर्वसाधारणले पाउने भएकाले नोक्सान नहुने संभावना रहेको विश्वास सर्वसाधारणले लिएका हुन्छन् । यो नै बुकबिल्डिङ विधिको सुन्दरता हो । सर्वोत्तम विगतदेखि नै राम्रो सिमेन्ट उद्योग हो । सर्वोत्तमले सेयरधनीहरुलाई राम्रो नाफा गरेर लाभांश दिइरहेको छ ।

    सेयरको मूल्य नेपाल धितोपत्र बोर्डले भनेर घटाएको हो कि उद्योग आफैंले ?

    कम्पनीले बुकबिल्डिङ विधिबाट साधारण सेयर निष्कासन गर्न तीनवटा सर्त पुरा गर्नुपर्छ । पहिलो कुरा प्रतिसेयर १ सय ५० रुपैयाँ भन्दा माथि हुनुपर्छ । तीन वर्षदेखि लगातार नाफा कमाएको हुनुपर्छ र संस्थापकलाई बिक्री गर्ने सेयरको जुन मूल्य आउँछ त्यसमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

    यस्तै प्रिमियमा जतिमा सर्वसाधारणलाई दिने हो त्यसको ५ प्रतिशत म्युचअल फण्डलगायत धितोपत्र बजारका अन्य संस्थालाई दिनुपर्छ । बुकबिल्डिङ विधिमा म्युचअल फण्डलगायत ४५ प्रतिशत सेयर सिधै संस्थागत लगानीकर्तालाई दिनुपर्छ । संस्थागत लगानीकर्तालाई दिएको मूल्यबाट सर्वसाधारणलाई १० प्रतिशत घटाएर दिने संसारभरीको नियम हो ।

    यहाँले बुकबिल्डङ विधिबाट आइपिओ निष्कासन गर्दा उद्योगको ३ वर्षमा वित्तीय अवस्था यस्तो हुन्छ भनेर प्रक्षेपण सार्वजनिक गर्नु भएको छ । यो पुरा हुने आधारहरु के छन् ?

    हामीले सेयर निष्कासन प्रयोजनका लागि जुन वित्तीय विवरण सार्वजनिक गरेका छौं । हामीले प्राप्त गर्न सक्ने प्रक्षेपित वित्तीय विवरण सार्वजनिक गरेका छौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा सर्वोत्तमले ९ करोड ५० लाख रुपैयाँ खुदनाफा गरिसकेको छ । ६ महिनामा पनि हामी राम्रो नाफामा छौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत केही कम्पनीहरु नोक्सानमा रहेको वित्तीय विवरणहरु आइरहेका छन् । हामीले लिएको लक्ष्य पुरा हुनेमा म विश्वस्त छु ।

    अर्को महत्वपूर्ण कुरा आईपिओ आइसकेकाले अब सर्वोत्तम सिमेन्ट ऋणमुक्त हुनेछ । आइपिओबाट आएको रकमले ऋण चुक्ता गरेर पनि बचत हुन्छ । यसअघि शिवम् सिमेन्ट आइपिओमा आएपछि पनि उसको ऋण चुक्ता भएको थिएन् । घोराही सिमेन्टको कुरा गर्दा आइपिओबाट ३ अर्ब रुपैयाँ आयो । तर, उद्योगको ऋण १० अर्ब रुपैयाँ छ । घोराही सिमेन्टको कर्जा चुक्ता भएन् ।

    सर्वोत्तमको ऋण २ अर्ब रुपैयाँ छ । आइपिओ निष्कासनबाट आउने रकम २ अर्ब ३५ करोड रुपैयाँ छ । हाम्रो उद्योगलाई ऋण र सोको ब्याज भार पनि परेन । ऋणको ब्याज तिर्ननपरेपछि त्यो रकम सिधै आम्दानी हुने भयो । सर्वोत्तम सिमेन्टको कुनै दायित्व छैन् । आजको दिनमा उद्योगले बजारबाट उठाउनुपर्ने २ अर्ब रुपैयाँ बक्यौता छ । हामी ठूला आयोजनाहरुलाई बैंक ग्यारेन्टी लिएर सिमेन्ट दिएका छौं ।

    हेर्नुहोस् न्यौपानेसंगको कुराकानी भिडिओमा

    हाम्रो कम्पनीप्रति विश्वास गरेर जुन लगानी गर्नु भएको छ । हामी सेयरधनीलाई उचित प्रतिफल दिने छौं । सर्वोत्तम सिमेन्टको सेयरलाई दीर्घकालिन लगानीका लागि सोच्नुस अल्पकालिन लगानीका लागि सोचेर सेयर नबेच्नुस भन्ने मेरो लगानीकर्ताहरुलाई सुझाव छ । ३ सय ६० रुपैयाँमा किनेको सेयर भोली ७ सय रुपैयाँ पुग्दैमा बढी मूल्य पाइयो भनेर बेच्नुपर्ने अवस्था छैन् । उद्योगले राम्रो प्रतिफल दिने छ भन्ने म विश्वास दिलाउँछु ।

    सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको ठूलो उत्साह देखियो । यहाँले अन्य उद्योगहरुको आइपिओ ल्याउने योजना बनाउनु भएको छ ?

    हामीले तत्काल दुईटा उद्योगहरुको आइपिओ ल्याउने तयारी गरेका छौं । दुइटै कम्पनीको आइपिओ बुकबिल्डिङ विधिबाट ल्याउने छौं । एउटा लक्ष्मी स्टिल लिमिटेड रहेको छ भने अर्को जगदम्बा स्पिनिङ मिल्स लिमिटेड हो । लक्ष्मी स्टिल लगातार १० वर्षदेखि नाफामा सञ्चालन भइरहेको छ । भरर्खरै रिलायन्स स्पिनिङ मिल्सको आइपिओ आइसकेको छ । यस्तै किसिमको उद्योग जगदम्बा स्पिनिङ हो । जगदम्बा धागो उत्पादन तथा निर्यात गर्दै आएको १८ वर्ष पुरानो उद्योग हो । यसको पनि आइपिओ ल्याउने तयारीमा छौं ।

    कहिलेसम्म दुई उद्योगको आइपिओ ल्याउँदै हुनुुहुन्छ ?

    हामीले आइपिओ ल्याउने प्रक्रिया सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षभित्र नै नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासन गर्न आवेदन दिने तयारीमा छौं । अर्को आर्थिक वर्षभित्र आईपिओ ल्याउने योजना बनाएका छौं । सर्वोत्तम सिमेन्टको आइपिओ ल्याउन विभिन्न कारणहरुले गर्दा ढिलो हुन गयो । बुकबिल्डिङबाट आइपिओ ल्याउन नियम नै बनेको थिएन । बोर्डले निर्देशिका जारी गरेको थिएन् ।

    बुकबिल्डिङबाट आइपिओ ल्याउने नीति बनाउन बोर्डलाई समय लाग्यो । ‘बिडिङ प्लेटफर्म’ नै थिएन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई बिडिङ प्लेटफर्म दिने र उसले म्यानुअल रुपमा गर्ने भन्ने थियो । म्यानुअल गर्न सकिन्छ कि सकिन्न भन्नेमा अलमल थियो । म्यानुअल गर्न सकिन्छ भन्ने कुरा आयो । त्यसबेला संस्थागत लगानीकर्ता १ सय ३० जना मात्र थिए । अहिले बढे पनि सर्वोत्तमका संस्थागत लगानीकर्ता कमै छन् । क्वालिफाइल इन्टिच्युसन (क्युआइआई) बढेकाले अब आगामी दिनमा बुकबिल्डिङबाट आइपिओ ल्याउन सहज हुने देखिन्छ ।

    कति मूल्यमा आइपिओ निष्कासन गर्ने तयारीमा हुनुहुन्छ ?

    दुबै उद्योगहरुको सम्पत्ति दायित्व मूल्याँकन (डिडिए) गरेर मूल्य निकाल्ने छौं । दुबै उद्योगहरुको क्रेडिट रेटिङ (शाख) राम्रो छ । त्यसपछि कति मूल्यमा आइपिओ ल्याउने भन्ने निक्र्योल हुनेछ । हामी लक्ष्मी स्टिल र जगदम्बा स्पिनिङको आइपिओ बुकबिल्डिङबाट निष्कासन गर्ने छौं । बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया भर्खरै सुरु भएको छ । नियुक्ति भएपछि सबैकुरा बुझन र बाँकी पेन्डिङ फाइलको काम सक्न समय लाग्नेछ । अर्को आर्थिक वर्षमा आइपिओ निष्कान गर्ने छौं ।

    सर्वोत्तम स्टिलको आइपिओ कहिले ल्याउनु हुन्छ ?

    हाम्रो अर्को उद्योग सर्वोत्तम स्टिलको आइपिओ निष्कासन गर्ने छौं । सर्वोत्तम स्टिलको पनि यही समयमा निष्कासन गर्ने छौं । यसको आईपिओ लक्ष्मी र जगदम्बाको भन्दा चाँडो आउने छ । सर्वोत्तम स्टिलको आइपिओ प्रतिकित्ता १ सय रुपैयाँमा २५ लाख कित्ता निष्कान गर्ने छौं । सर्वोत्तम स्टिलको जम्मा २५ करोड रुपैयाँको आइपिओ १ सय रुपैयाँमा निष्कासन गर्ने भएकाले अनुमतिका लागि धेरै समय लाग्दैन । आवेदन सर्वोत्तमको पहिला जान्छ होला ।

    जगदम्बा स्पिनिङको १० प्रतिशत आइपिओ ल्याउने छौं भने सर्वोत्तम स्टिलको १२ र लक्ष्मी स्टिलको १५ प्रतिशतसम्म ल्याउने योजना बनाएका छौं । हामी बढी सेयर निष्कान गर्दैनौ । सरकारले न्युनतम तोकेको १० प्रतिशत र आयोजना प्रभावित स्थानीयबासिन्दालाई दिने जुन व्यवस्था छ, त्यही आधारमा आइपिओ निष्कासन हुन्छ ।

    धागो उद्योगले स्थानीयबासिन्दालाई दिनुनपर्ने भएकाले जगदम्बा स्पिनिङको १० प्रतिशत मात्र निष्कासन गर्ने छौं । धागो उद्योगबाट स्थानियमा वातावरण प्रभाव असर नपर्ने भएकाले उनीहरुलाई निष्कासन गर्नुपर्दैन । जस्तो रिलायन्स स्पिनिङ मिल्सले पनि स्थानीयबासिन्दालाई आइपिओ निष्कासन गरेन । वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन (इआइए) मा पर्ने वा नपर्ने भन्ने तोकेको हुन्छ । त्यही आधारमा स्थानीयबासिन्दालाई आइपिओ निष्कासन हुन्छ ।

    लक्ष्मी र जगदम्बा स्पिनिङको बुकबिल्डिङबाट आइपिओ ल्याउने तयारी गरिरहेका बेला सर्वोत्तम स्टिलको किन १ सय रुपैयाँमा निष्कासन गर्न लाग्नु भएको हो ?

    यो उद्योग सञ्चालनमा आएको दुई वर्ष मात्र भयो । नियममा तीन वर्ष लगातार नाफामा गएको कम्पनीले मात्र बुकबिल्डिङ विधिबाट आइपिओ ल्याउने भन्ने कुरा छ । उद्योग खोलेकै तीन वर्ष भएको छैन्। सञ्चालनमा आएपछि उद्योग नाफामा जान्छ । सञ्चालनमा आएको लगातार तीन वर्ष नाफा गरेको हुनुपर्छ । त्यसपछि मात्र बुुकबिल्डिङमा जान बिड हाल्नुपर्छ ।

    अहिले बजारमा माग घटेको अवस्था छ । आउँदा दिनमा सिमेन्ट र डण्डीको व्यापारमा कतिको असर पर्ने देख्नु भएको छ ?

    सर्वोत्तम सिमेन्टको कुरा गर्दा गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको हेर्दा सिमेन्ट बिक्री बढेको छ । यो हुनुमा दुईवटा कारण छन् । पहिलो कुरा स्थानीयमा माग छैन् । तर, भारतमा निर्यात सुरु भएको छ । कूल आम्दानीको २० देखि २५ प्रतिशत आम्दानीमा निर्यातको योगदान छ । त्यसैले गर्दा हामीले यो वर्ष २५ प्रतिशत वृद्धि हासिल गर्ने छौं ।

    हाम्रो निर्यात बढेको छ भने अन्य उद्योगको ब्राण्डमा सिमेन्ट उत्पादन गरेर दिँदै आएका छौं । सर्वोत्तमले दुईटा उद्योगलाई उनीहरुले भनेको ब्राण्डमा सिमेन्ट उत्पादन गरेर दिएका छौं । दुई उद्योग र ब्राण्डको नाम खुलाउन मिल्दैन् ।

    ग्रान्डिङ उद्योगबाट उत्पादन गर्दा लागत धेरै पर्ने भएपछि उहाँहरुले हामीसँग सम्झौता गरेर ति उद्योगहरुले हामीबाट सिमेन्ट उत्पादन गरेर बजारमा बिक्री गरिरहनु भएको छ । हामीले गुणस्तर तथा नापतौल विभाग र वाणिज्य विभागबाट अनुमति लिएर दुई कम्पनीको सिमेन्ट उत्पादन गरिरहेका छौं । यसले पनि सिमेन्टको कारोबार बढाएको छ । बिक्री बढ्यो उसको उत्पादनको जिम्मेबारी पनि हाम्रो उद्योगले लियो । त्यसबाट पनि सर्वोत्तमलाई नाफा आएको छ ।

    भारतमा सिमेन्ट निर्यातको अवस्था कस्तो छ ?

    भारतमा सिमेन्ट निर्यात बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको बक्यौता भुक्तानीको कारण देखाएर बिजुलीको लाइन काटेपछि केही दिन उद्योगको उत्पादन प्रभावित भयो । अहिले उद्योगले निरन्तर सिमेन्ट उत्पादन गरिरहेको छ । हामीले भारतीय मापदण्ड इन्डियन स्ट्यान्डर्डबाट गुणस्तर पास गरेर मात्र सिमेन्ट निर्यात गरेका छौं ।

    उनीहरुको मापदण्ड पुरा नगरी निर्यात गर्न पाइन्दैन् । आइएसआई लिन लामो प्रक्रिया छ । नेपालका ७ वटा उद्योगले भारतबाट सिमेन्ट निर्यात गर्न आइएसआइ पाएका छन् । पाउनेमा सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट पाल्पा सिमेन्ट र रिद्धिसिद्धी सिमेन्टलगायत छन् । सिमेन्टको हकमा स्थानीय बजारमा माग घटे पनि भारतमा निर्यात गरेर बजार विस्तारको बाटो खुला भएको छ ।

    मान्छेमा क्रयशक्ति नभएका कारण स्थानीय माग कम हुँदै गएको छ । सरकारले विनियोजन गरेको विकास बजेट धेरै कम छ । त्यो पनि खर्च हुन सकेको छैन । अहिले खर्च देखिएको छ, त्यो सबै पुरानो भुक्तानी मात्र भएको हो । नयाँ ठेक्का लागेको छैन् । सरकारको भुक्तानी चक्र पनि बिग्रिएको छ । मैले सिमेन्ट उद्योग चलाएको २७ वर्ष भयो । यसबीचमा ठूला निर्माण व्यवसायीसँग मेरो कारोबार भएको छ । मेरो सबैभन्दा पुरानो जगदम्बा सिमेन्ट छ त्यसको अध्यक्ष म नै छु । आज पनि त्यो उद्योग चलिरहेको छ ।

    सरकारसँग विकासका लागि बजेट नै छैन । साधारण खर्च धान्न गाह्रो भइरहेको छ । त्यो अवस्थामा निर्माण व्यवसायीले पनि काम गरेको पैसा लिन झगडा गर्नु परेको अवस्था छ । उहाँहरुसँग धेरै पुरानो सम्बन्ध भएकाले आजको भोली नै पैसा दिनुस भन्न सकिन्न । उहाँबाट पनि भुक्तानीमा ढिलाइ भइरहेको छ । समस्या धेरै छन् । हाम्रो उद्योगको ऋण नभएपछि ब्याज तिर्नुपर्ने दायित्व नै छैन । आजका दिनमा नेप्सेमा सूचिकृत एक उद्योगको ऋण १० अर्ब रुपैयाँ छ । उसले ब्याज मात्रै १ अर्ब २० करोड रुपैयाँ तिर्नुपर्छ ।

    सर्वोत्तम सिमेन्टको ब्याज तिर्नुपर्ने दायित्व शून्य छ । सर्वोत्तम सिमेन्ट १ अर्ब २० करोड घाटामा गयो भने म ब्याजका कारण बराबरीको अवस्थामा आउने भएँ । दोस्रो मेरो निर्यात छ । अहिले चारवटा सिमेन्ट उद्योगहरु छन्। ति मध्ये सर्वोत्तमले मात्र भारतमा निर्यात गरिहेको छ । हाम्रो भारतमा बजार, लोकेसनले गर्दा सर्वोत्तम सिमेन्टको अवस्था राम्रो छ । दाङबाट सिमेन्ट काठमाडौं ल्याउँदा बोराको २ सय रुपैयाँ बढी ढुवानी भाडा लाग्छ । सर्वोत्तमको १ सय रुपैयाँमा आयो । १ सय रुपैयाँ सस्तो त्यहीँबाट भयो । यही कारणले गर्दा हामी बलियो अवस्थामा छौं । हामी बजारदेखि नजिक र खानीदेखि पनि नजिक छौं ।

    यहाँले सिमेन्ट र डण्डीमा लगानी गर्नु भएको छ । आगामी दिनमा कुन क्षेत्रमा लगानी विस्तार गर्दै हुनुहुन्छ ?

    अहिले नयाँ उद्योग भन्दा पनि जगदम्बा स्पिनिङ मिल्समा क्षमता विस्तार चलिरहेको छ । काम भइरहेको छ । यो बाहेक सर्वोत्तमका लागि धादिङमा प्रतिस्पर्धाबाट १५ करोड रुपैयाँ सरकारलाई बुझाएर चुनढुंगा खानी लिएका छौं । यो पनि पाइपलाइनमा छ । काम सुरु गरेपछि हामी भन्छौं ।

    यहाँले जगदम्बा स्पिनिङ मिल्सको क्षमता बढाउने कुरा गर्नु भयो । अब कति बढ्ने छ ?

    अहिले धागो कारखानाको क्षमता वार्षिक ५० हजार स्पिन्डल क्षमता छ । त्यो भनेको वार्षिक २० हजार टनको क्षमता छ । यसलाई बढाएर २८ हजार टन पुर्याउँदै छौं । अब ८ हजार टन क्षमता थपिँदै छ । यसबाट लगभग ४० प्रतिशत धागो उत्पादन बढी हुने छ । विस्तारको काम सक्न डेढ वर्ष लाग्ने छ । मेशिनहरु आयातका लागि अर्डरको काम सुरु भइसकेको छ । उद्योगको क्षमता विस्तारमा ७५ करोड रुपैयाँ लगानी थप्ने भएको छ । यो पनि बैंकबाट ऋण लिएर नभएर कम्पनीको आम्दानी र रिजर्भबाट गर्ने भएका छौं ।

    नेपाली धागोको बजार राम्रो हुनुका साथै विदेशमा निर्यात बढिरहेकोे कुरा सुनिएको छ । जगदम्बाले कुन कुन देशमा धागो निर्यात गरिहेको छ ?

    नेपाली धागोको मुख्य बजार भारत नै हो । टर्कीमा पनि निर्यात गरिरहेका छौं । अहिले बंगलादेशमा निर्यातका लागि कोशिस गरिरहेका छौं । केही गाडी धागो बंगलादेश गएको छ ।

    नयाँ उद्योग ल्याउँदै हुनुहुन्छ ?

    नयाँ उद्योग ल्याउने सोच बनेको छैन । भएका उद्योगमा नयाँ प्लान्ट राख्ने र क्षमता बढाउने मात्र काम भइरहेको छ । पुराना मेशिन हटाएर नयाँ राख्ने कामहरु भइरहेको छ । अहिले नेपालमा त्यति राम्रो अवस्था छैन् । हामी सिमेन्ट र स्टिल बिजनेसमा लागेको धेरै वर्ष भयो । म आफै पनि इन्जिनियर हुँ । सडक विभाग र भवन विभागमा जागिर खाएर छाडेपछि उद्योगतिर लागेको हो । यो अवस्था सधै रहन्न । अवस्था राम्रो भएपछि हामी नयाँ उद्योग ल्याउनेतर्फ सोच्ने छौं ।

    उद्योगीहरुले ऋण नलिँदा अहिले बैंकमा खर्बौं रुपैयाँ थुप्रिएको छ । बैंकमा समस्या आउने देखियो नि ?

    त्यो बैंककको कुरा भयो । हामीलाई चाहिए ऋण लिने हो । हाम्रो इन्टर कम्पनीको क्रससेयर होल्डिङ छैन् । एउटा उद्योगले एउटामा मात्र लगानी गरेको छ । अर्को उद्योगमा गरेको छैन् । कम्पनी खडा गर्यो, त्यसमा पैसा लगायो र सेयर बजारमा लगानी गर्ने काम हामी गर्दैनौं ।

    सिमेन्ट भनेपछि पुरै सिमेन्टमा हुन्छौं । एउटा सिमेन्ट उद्योगको अर्कोसँग सम्बन्ध नै छैन । उद्योगहरु एकदमै स्वतन्त्र ढंगले चलेका छन् । सबै उद्योगको आ आफना कार्यालय छन् । आज मेरो ऋण छैन । आवश्यक परे बैंकबाट ऋण लिन्छु नत्र लिन्न ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend